झापा: मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएर बुधबार राति ११:४५ बजेतिर दुर्घटना भएको जिल्ला पुलिस कार्यालय मोरङले जनाएको छ। पुलिसका अनुसार स्कुटरमा ३ जना सवार थिए। दुर्घटनामा स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय राजु साहको मृत्यु भएको मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा बुढीगंगाको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा बिहीबार बिहान २:३० बजेतिर मृत्यु भएको हो। दुर्घटनामा स्कुटरको पछाडि सवार कोशी–१ का ३६ वर्षीय योगेन्द्र साह र ३० वर्षीय सुरज साह, मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ का २९ वर्षीय कृष्ण माझी गम्भीर घाइते भएका छन्। तीनै जना घाइतेको विराट मेडिकलमै उपचार भइरहेको छ। पुलिसको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल र स्कुटरका चालकले मापसे गरेको खुलेको छ। मापसे गरेर रातिको समयमा तीव्र गतिमा सवारी साधन चलाएका कारण दुर्घटना भएको पुलिसको भनाइ छ। अर्कोतर्फ स्कुटरमा क्षमताभन्दा बढी (३ जना) सवार थिए। दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै सवारीसाधनलाई इलाका पुलिस कार्यालय नेमुवामा राखिएको छ।









