झापा: इटहरीको द रिभर ओभरसिज म्यानपावरका सञ्चालक महेन्द्रराज खतिवडालाई पुलिसले पक्राउ गरेको छ। इलाका पुलिस कार्यालय इटहरीले खतिवडालाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो। इलाका पुलिस कार्यालय इटहरीका प्रमुख, डीएसपी टेकबहादुर कार्कीले पक्राउ परेका खतिवडाविरुद्ध ३ वटा मुद्दा चल्नसक्ने जानकारी दिए। ‘ठगी, चेक बाउन्स र अभद्र व्यवहार गरेकोबारे जाहेरी परेको छ,’ कार्कीले भने, ‘थप कुरा अनुसन्धानबाट पत्ता लाग्नेछ। ’उनका अनुसार खतिवडाले म्यानपावरको नाम लिएर सर्वसाधारणमाथि ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। केही पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा पुलिसले खतिवडालाई बुधबार पक्राउ गरेको पुलिसको भनाइ छ। खतिवडाविरुद्व तीन दर्जन बढी पीडितहरूले निवेदन दिएका छन् । निवेदनमा ७० लाख भन्दा बढी ठगी गरेको उल्लेख छ। वैदेशिक रोजगारीमा पठाउने बहानामा खतिवडासहित द रिभर ओभरिसज म्यानपावरका सञ्चालकहरूले ठगी गरेको पीडितहरूको भनाइ छ।