गान्तोक: सामाजिक कल्याण, महिला एवम वाल विकास साथै प्रिन्टिङ र स्टेसनरी विभाग मन्त्री साम्दुप लेप्चा र सल्लाहाकार पामिन लेप्चाले आजदेखि कार्य भार सम्हालेका छन्। यसै क्रममा महिला एवम वाल विकास विकागले एक कार्यक्रमको आयोजना गर्दै मन्त्री साथै सल्लाहकारलाई स्वागत जनायो। विभागको प्रेक्षागृहमा आयोजित स्वागत कार्यक्रममा सिक्किम राज्य वाल अधिकार आयोगकी अध्यक्ष दिपा खत्री लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री लेप्चाले नयाँ जिम्मेवारी र पद दिएकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङप्रति आभार प्रकट गर्दै महिला एवम वाल विकास विभागको योजना तथा कार्यक्रमहरूले तल्लो तहमा जनतासँग काम गर्ने प्रशस्त अवसर रहेको बताए। उनले विभागको लक्ष्य प्राप्तिका लागि सबै प्रकारको सहयोग र लगनशीलताका साथ काम गर्ने आश्वासन दिँदै आफूले तोकेको जिम्मेवारी पूरा गर्न समयनिष्ठ र इमान्दारिता कायम गर्न सबैलाई सुझाव दिए। मन्त्री लेप्चाले सम्वन्धित अधिकारीहरूलाई समय समयमा स्थलगत भ्रमण गर्न पनि सुझाव दिए।
सोही क्रममा सल्लाहकार पमिन लेप्चाले आफ्नो संक्षिप्त सम्बोधनमा मुख्यमन्त्रीलाई महिला तथा बाल विकास विभागमा काम गर्ने अवसर दिएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिएकी छन्। उनले आफ्नो कार्यकालको अवधिमा सबैसँग समन्वय राखेर काम गर्ने र समय समयमा आँगनवाडी केन्द्रको पनि निरीक्षण गर्ने जानकारी गराइन्।