सिलगढी: सिलगढी नजिकै रांगापानीमा भएको रेल दुर्घटनापछि घटनास्थललाई अहिले पर्यटकीय स्थलको रुपमा हेरिएको छ। यो हेर्न मानिसहरुको भीड लागेको छ। सोमबार राति रांगापानीस्थित छोटा निर्मलजोत नजिकै कञ्चनजङ्घा एक्सप्रेसलाई मालगाडीले पछाडिबाट ठक्कर दिएको थियो। यो दुर्घटनामा ११ जनाको मात्रै मृत्यु भएको थियो। सोही क्रममा धेरै जना घाइते भएका छन्। यहाँ, रेलको क्षतिग्रस्त बोगीहरू हटाएर फेरि एक पटक रेल यातायात सामान्य गर्ने प्रयास भइरहेको छ। जीआरपी र आरपीएफ जवानहरूको उपस्थितिमा काम भइरहेको छ। अर्कोतर्फ रेल दुर्घटनापछि घटनास्थल हेर्न टाढा–टाढाबाट धेरै मानिसहरु आउने गरेका छन्। मानिसहरु सेल्फी लिन, भिडियो बनाउन र रिल बनाउन विभिन्न ठाउँबाट जम्मा भएका छन्।
टिभीमा दुर्घटनाको खबर हेरेपछि आफ्नै आँखाले दुर्घटनास्थल हेर्न मन लागेको स्वेत आलम नाम गरेका व्यक्तिले बताए। त्यसैले आज उनी उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरबाट समय निकालेर यहाँ आएका हुन्। तर पुलिसको प्रतिबन्धका कारण उनीहरुले फोटो खिच्न पाएनन्। यसैबीच, दुर्घटना भएको दिन खबर पाएलगत्तै घटनास्थल पुगेको उक्त क्षेत्रका मोहम्मद खालिमले बताए। क्रमशः अवस्था स्वाभाविक बन्दै गएको छ। तर, दुर्घटनास्थल हेर्न मानिसको भीड लागेको छ।