जापानमा मान्छेको मासु खाने एक दुर्लभ ब्याक्टेरियाको कारणले एक रोग फैलिएको छ, जसले ४८ घण्टा भित्र मानिसलाई मार्नसक्छ। जापानमा कोभिड–१९ को प्रतिबन्ध खुकुलो भएपछि यो रोग फैलिरहेको छ। राष्ट्रिय संक्रामक रोग संस्थानका अनुसार स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो जुन संक्रमण भएको ४८ घण्टा भित्रमा घातक हुनसक्छ। नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेजका अनुसार यस वर्ष २ जूनसम्म जापानमा ९७७ एसटीएसएसका घटनाहरू रिपोर्ट गरिएका छन्, जुन गत वर्ष रिपोर्ट गरिएका रेकर्ड ९४१ मामिलाभन्दा बढी हो। यस संस्थाले सन् १९९९ देखि यस रोगका केसहरूको निगरानी गर्दै आएको छ। ग्रुप ए स्ट्रेप्टोकोकस (जीएएस)ले सामान्यतया बालबालिकामा घाँटी सुन्निने र दुख्ने गर्छ, जसलाई ‘स्ट्रेप थ्रोट’ भनिन्छ। ब्लुमबर्गका अनुसार केही प्रकारका ब्याक्टेरियाले खुट्टामा दुखाइ र सुन्निने, ज्वरो, कम रक्तचाप, जसले गर्दा नेक्रोसिस, श्वासप्रश्वासमा समस्या, अंग विफलता र मृत्यु लगायतका लक्षणहरू तीव्र रूपमा विकास गर्न सक्छन्।
टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्रोफेसर केन किकुचीले भने, ‘धेरैजसो मृत्यु ४८ घण्टाभित्र हुन्छ, बिरामीको बिहान खुट्टा सुन्निने बित्तिकै यो दिउँसो घुँडासम्म फैलिन सक्छ। ४८ घण्टा भित्र मृत्यु हुनसक्छ।‘ यो रोगको जोखिम ५० वर्षभन्दा माथिका मानिसमा बढी हुन्छ। किकुचीले हालको सङ्क्रमण दरमा यो वर्ष जापानमा सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय र मृत्युदर ३० प्रतिशत पुग्नसक्ने बताए। किकुचीले मानिसहरूलाई हातको स्वच्छता कायम राख्न र कुनै पनि खुला घाउको उपचार गर्न आग्रह गरे। उनले भनेका छन्, ‘बिरामीको आन्द्रामा ग्रुप ए स्ट्रेप्टोकोकस हुनसक्छ, जसले मलबाट हातहरू दुषित गर्नसक्छ।‘ ब्लूमबर्गका अनुसार जापान बाहेक, हालै अन्य धेरै देशहरूमा पनि स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम प्रकोपका घटनाहरू रिपोर्ट गरिएको छ। सन् २०२२ को अन्तमा, कम्तिमा पाँच युरोपेली देशहरूले विश्व स्वास्थ्य संगठनलाई आक्रामक समूह ए स्ट्रेप्टोकोकस (आइजीएएस) रोगको बढ्दो केसहरू रिपोर्ट गरे।










