झापा: काठमांडूमा चिनियाँ शैक्षिक प्रदर्शनी गरिएको छ। नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको प्रदर्शनको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा उद्घाटन गरिएको हिमालय टाइम्सले जनाएको हो।
उद्घाटनपछि परराष्ट्रमन्त्री श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य रहेको र त्यसले दुई देशको सम्बन्धलाई बलियो बनाएको बताए। उनले चीनमा अध्ययन गरेका थुप्रै नेपालीले नेपालमा कुनै न कुनै पेशा गरेर विभिन्न क्षेत्रमा राम्रो योगदान दिइरहेको जिकिर गरेका छन्।
चीन सरकारले दिइरहेको छात्रवृत्तिका कारण यो संख्या अझै बढ्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विश्वविद्यालयबाट शिक्षा प्राप्त गर्नेहरूले नेपालको विकासमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गरे।
नेपाल र चीनका विभिन्न विश्वविद्यालयबीच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले नेपालका विद्यार्थीहरू ठूलो संख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यसले आफ्नो शैक्षिक आवश्यकता पूरा गर्ने गरेको बताएका छन्।
चिनियाँ प्राध्यापकहरूले पनि नेपाल भ्रमण गर्ने गरेको भन्दै उनले त्यस्तो भ्रमणले जनता–जनताबीचको सम्बन्धलाई फराकिलो र गहिरो बनाएको चर्चा गरे। नेपालका लागि चिनियाँ राजदूत सोङले प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बताए। उनले प्रदर्शनीले नेपाल–चीनबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रदर्शनी नेपाल र चीनबीचको सबैभन्दा ठूलो उच्च शिक्षा सहयोग परियोजना रहेको बताउँदै उनले यसमा ३१ वटा विभिन्न चिनियाँ विश्वविद्यालय सहभागी रहेको बताए। प्रदर्शनीमा चिनियाँ शिक्षाको विविध र उच्च गुणस्तरको झलक प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गर्नुभयो। यसको फाइदा लिन उहाँले सबैमा आग्रह पनि गरेका छन्।
नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न जानकारी प्रदर्शनीमा रहेको परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र साहले जानकारी गराएका छन्।
परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ। पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो। पछिल्लो जानकारी अनुसार चीनमा १६० वटा देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन्।
प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको परिषद्का अध्यक्ष साहले जानकारी गराए।










