कृषक उत्थान र कृषिमा जलवायु कार्यलाई सम्बोधन गर्न राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच समझदारी

IMG-20240620-WA0070.jpg

झापा: कृषक समुदायको उत्थान तथा कृषिमा जलवायु कार्यलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीसमेत रहेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भुटान र नेपालका लागि (एफएओ) का प्रतिनिधि केन सिमिजु र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। स्रोतका अनुसार यो सम्झौताको उद्देश्य सम्बन्धित संस्थाको विशेषज्ञता, ज्ञान, सञ्जाल र स्रोतलाई कृषि उत्पादकत्व वृद्धि गर्न, किसान र कृषक समुदायको उत्थान, कृषिमा जलवायु परिवर्तनलाई सम्बोधन गर्न सहयोग पुग्ने हो। एफएओका कार्यक्रमविज्ञ अरुण जिसीले नेपालमा कृषि खाद्य प्रणाली रूपान्तरण र खाद्य सुरक्षा र पोषणमा योगदान पु¥याउने उद्देश्य पनि यो सम्झौता रहेको बताउँदै कृषि अनुसन्धान र विकासलाई सुदृढ गर्न यो सम्झौताले सहयोग पुर्याउने विश्वास लिएको बताएका छन्। यो सम्झौतापछि दुवै पक्षबिच अनुसन्धान, ज्ञान विकास तथा प्राविधिक विशेषज्ञताको क्षेत्रमा कार्य हुने बताइएको छ।

सम्झौताले नेपालमा कृषि खाद्य प्रणालीलाई रूपान्तरण गर्ने पारस्परिक प्रतिबद्धतालाई जोड दिँदै लामो समयदेखिको साझेदारीलाई बलियो बनाउन रणनीतिक आधार तयार गर्ने बताइएको छ। यो सम्झौताले व्यापक रूपमा सहकार्यका मुख्य क्षेत्रलाई समेटेको छ।
एफएओको विश्वव्यापी विशेषज्ञता र एएफयुको राष्ट्रिय विशेषज्ञताले नेपाली खेती र प्राकृतिक स्रोत व्यवस्थापन समुदायको फाइदाका लागि सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ। यस साझेदारीमार्फत, एएफयुका सङ्काय र विद्यार्थीले एफएओ विशेषज्ञसँग नजिकबाट काम गर्ने मौका पाउने छ। विद्यार्थीको शैक्षिक र अनुसन्धान क्षमताहरू अभिवृद्धि गर्न अमूल्य अन्तरदृष्टि र सिपहरू प्राप्त गर्ने छन्।

About Author

Advertisement