आईसीसी टी२० वर्ल्ड कपः रनको वर्षाबीच वेष्ट इण्डिज विरुद्ध ईंग्ल्याण्डको एकतर्फी जीत

IMG-20240620-WA0119.jpg

ग्रस आइलेट (सेण्ट लूसिया): आईसीसी टी२० वर्ल्ड कपको सुपर ८-मा ईंग्ल्याण्डले एकतर्फी जीतको साथ शुरुवात गऱ्यो। बिहीवार बिहान खेलिएको ग्रुप २-को म्याचमा ईंग्ल्याण्डले टुर्नामेण्टको सह-आयोजक वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो। जवाफमा ईंग्ल्याण्डले १७.३ ओभरमै २ विकेट गुमाएर १८१ रनको लक्ष्यलाई हासिल गऱ्यो। भाग्यको भरमा सुपर ८-को निम्ति क्वालीफाई गर्ने ईंग्ल्याण्डको यस जीतमा ओपनर फिल सल्टको महत्त्वपूर्ण भूमिका रह्यो, जसले अविजित ८७ रनको साथ वेष्ट इण्डिजको चुनौतीलाई माटोमा मिलाए। सल्टले ४७ बल खेलेर ७ वटा चौका र ५ वटा छक्का लगाए। यसबाहेक जनी बेयरस्टोले अविजित ४८ र कप्तान जोस बटलरले २५ रन बनाए। सल्टले बटलरसँग मिलेर पहिलो विकेटको निम्ति ७.४ ओभरमा ६७ रन जोड़ेर टीमलाई असल शुरुवात दिलाए। त्यसपछि बटलर र मोईन अली (१३ रन) लगातार आउट हुँँदा स्कोर २ विकेटमा ८४ रन भएको थियो। त्यहाँबाट सल्ट र बेयरस्टोले मिलेर वेष्ट इण्डिजका बलरहरूलाई कुनै मौका दिएनन्। यी दुईले मिलेर तेस्रो विकेटको निम्ति ४४ बलमा ९७ रनको अटूट पार्टनरशीप गरी ईंग्ल्याण्डलाई एकतर्फी जीत दिलाए। बेयरस्टोले २६ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसअघि वेष्ट इण्डिजको ईनिंग्समा जनसन चार्ल्स र ब्राण्डन किंगले टीमलाई असल शुरुवात दिलाए। टीमको स्कोर ४० रन पुग्दा किंग २३ रन बनाएर रिटायर्ड हर्ट भए। त्यहाँबाट चार्ल्सले विकेटकीपर-ब्याटर निकोलस पूरनसँग मिलेर स्कोरलाई ११.१ ओभरमा ९४ रनसम्म पुऱ्याए। चार्ल्स ३८ र पूरन ३६ रन बनाएर आउट भए। चार्ल्स र पूरनले क्रमशः ३४ र ३२ बल खेलेर ४-४ वटा चौका र १-१ वटा छक्का लगाए। त्यससपछि कप्तान रोवम्यान पावेलले ५ वटा छक्काको साथ १७ बलमा ३६ रन बनाएर रन रेटलाई बढ़ाउने प्रयास गरे पनि ईंग्ल्याण्डका बलरहरूले कसिलो बलिंग गरेर अन्तिम ओभरहरूमा म्याचलाई नियन्त्रणमा राखे। यसैकारण वेष्ट इण्डिजले असल शुरुवातपछि पनि २०० रनको आँकड़ालाई पार गर्न सकेन। अन्तिम ओभरहरूमा शेरफाने रदरफोर्डले १५ बलमा अविजित २८ रन बनाए। उनले २ वटा छक्का र एउटा चौका लगाए। आन्द्रे रसेल केवल १ रन बनाएर आउट भए। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चर, अदिल राशिद, मोईन अली र लियम लिविंगस्टोनले १-१ विकेट लिए। फिल सल्टलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement