गान्तोक: दुई सातादेखि लगातार वर्षा र खराब मौसमको कारण उत्तर सिक्किमबाट १५० पर्यटकहरूको अन्तिम समूहलाई आज गान्तोक ल्याइयो भारतीय सेनाको त्रिशक्ति कोरले सिभिल प्रशासन र स्थानीय जनताको सहयोगमा जुन १२ र १३ देखि लगातारको वर्षा र पैह्रोका कारण उत्तर सिक्किममा फसेका १२०० पर्यटकलाई बाहिर निकाल्न सफल भएको छ। अभियान १७ जूनबाट सुरु भएको थियो। पर्यटकले पैह्रो स्थलहरू पैदल हिडेर पार गर्नुपरेको थियो र सडक भएका ठाउँमा सवारी साधनमा आवतजावत गर्नुपरेको थियो। १९ जूनमा निकालिएका १५० पर्यटकमध्ये धेरैलाई चिकित्सकीय सहायताको आवश्यकता थियो। तत्काल उपचार आवश्यक पर्ने तीन जनालाई सेना अस्पतालमा उपचार गराई स्ट्रेचरमा सकुशल मंगनतिर ल्याइएको थियो। पर्यटकलाई मोटरबाइकसहित सबै साधन प्रयोग गरेर उद्धार गरिएको थियो। बर्षेनी धेरै पटक अचानक हिमपात, अत्याधिक बर्षा, पैह्रो र सडक अवरुद्ध हुँदा पर्यटकहरु सीमा क्षेत्रमा अलपत्र पर्दा पर्यटकहरुलाई उद्दार गर्न, खाना, बास, चिकित्सा सुविधा उपलब्ध गराउने र स्थानीय तहसम्म पुर्याउन सेनाले सक्दो प्रयास गर्दै आएको छ।