गान्तोक: प्रदेश अध्यक्ष तथा पूर्व विधायक डीआर थापाको नेतृत्वमा भारतीय जनता पार्टी सिक्किम प्रदेशको प्रतिनिधि टोलीले आज याङ्गाङको पैह्रो प्रभावित गाउँ मझुवाको भ्रमण गऱ्यो। भ्रमण अवधि भाजपा नेताहरूले स्थानीय हेलीपेड र कल्चरल सेन्टरको राहत शिविर पनि पुगेका थिए। ती शिविरहरूमा मझुवाका पैह्रो प्रभावित परिवारहरू रहँदै आएका छन्। भ्रमणअवधि भाजपा-का प्रतिनिधिहरूले पैह्रो प्रभावितहरूबाट सुविधा-असुविधा बारे जानकारी लिनुको साथै आफूहरूसित लिएर गएका राहत सामाग्रीहरू पनि वितरण गरे।

उल्लेखनीय छ, गत १० जूनको एका बिहानै दक्षिण सिक्किमको राङगाङ याङगाङ समष्टिअन्तर्गत याङगाङको मझुवा गाउँमा भिषण भल पैह्रो गएको थियो। उक्त प्राकृतिक आपदामा उक्ता गाउँका ९ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएको थियो भने ५० भन्दा अधिक घरलाई पनि धेरै क्षति पुऱ्याएको छ। पैह्रोक चपेटमा परेर एकै परिवारका दुईजना लगायत तीनजनाको मृत्यु भएको थियो। एकजना महिलालाई भने जिवित उद्धार गरिएको थियो।

भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईंले मझुवाका पैह्रो प्रभावितहरूलाई केन्द्र सरकाबाट पनि आवश्यक राहत राशि अनि अन्य सुविधा उपलब्ध गराउने आश्वासन दिएको छ।