फुलबारी: साइकल र जुत्ता छाडेर टिस्टा नहरमा हाम फालेको चार दिन बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन। विपद् व्यवस्थापन टोलीले व्यक्तिको खोजी सुरु गरेको छ।नहरमा डुबेर मृत्यु हुनेको नाम राजेश दे उर्फ बापी (५२) रहेको बताइएको छ। उनी सिलगढीसँग जोडिएको फुलबारी-१ ग्राम पञ्चायत नम्बरको हरिपुरका बासिन्दा हुन्। राजेशले गत शनिबार राति करिब ११ बजे पुटिमारी क्षेत्रको गजलडोबा–फुलबारी टिस्टा नहरको पुलबाट हाम फालेका थिए।
पारिवारिक स्रोतका अनुसार राजेश डेका श्रीमती र एक बच्चा छन्। उनी इलेक्ट्रिसियनको काम गर्छन्। उनको एक महिलासँग अवैध सम्बन्ध रहेको परिवारका सदस्यले आरोप लगाएका छन्। जसका कारण शनिबार श्रीमतीसँग झगडा भएको थियो। त्यसपछि राजेश राति करिब १०ः३० बजे साइकलमा घरबाट निस्किएका थिए। त्यसपछि उनले साइकल र जुत्ता पुलमा राखेर टिस्टा नहरमा हाम फाले। केही स्थानीयले उनलाई देखे तर रातको अन्धकारमा कसैले चिन्न सकेनन्। टिस्टा नहरमा धेरै पानी र करेन्ट थियो जसका कारण हाम फाल्ने क्रममा उनी बगेका थिए । सूचना पाएपछि पुलिस थानाबाट पुलिस घटनास्थल पुगेर साइकल र जुत्ता बरामद गरेको थियो।
सिलगढी टाइम्समा खबर प्रकाशित भएपछि परिवारका सदस्यहरूले घटनाको जानकारी पाएपछि पुलिस थानामा सम्पर्क गरेका थिए। पुलिसले बरामद गरेको साइकल र जुत्ता देखेर परिवारका सदस्यले राजेश दे भनेर चिनाए। घटना भएको चार दिनपछि आजदेखि विपद् व्यवस्थापन टोलीले राजेशको खोजी सुरु गरेको छ। तर, राजेशको अहिलेसम्म कुनै पत्ता लागेको छैन।