नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको राजगीरमा नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पसको उद्घाटन गरे। विश्वविद्यालयलाई भारत र पूर्वी एसिया शिखर सम्मेलन (ईएएस) देशहरू बीचको सहयोगको संयन्त्रको रूपमा परिकल्पना गरिएको छ। उद्घाटन समारोहमा १७ देशका नियोग प्रमुखहरू सहित धेरै प्रतिष्ठित अतिथिहरूको उपस्थिति थिए। सो अवसरमा प्रधानमन्त्रीले बिरुवा रोपे।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएको १० दिनभित्र नालन्दामा आएकोमा खुशी व्यक्त गर्दै यो भारतको विकास यात्राको दिशामा सकारात्मक संकेत भएको बताए। प्रधानमन्त्रीले नालन्दा नाम मात्र नभएर पहिचान, सम्मान भएको बताए। उनले भने, ‘नालन्दा मौलिक हो र मन्त्र पनि हो। पुस्तक आगोमा जलाए पनि ज्ञान नष्ट हुन सक्दैन भन्ने सत्यको उद्घोषणा नालन्द हो।‘ उनले नयाँ नालन्द विश्वविद्यालयको स्थापनाले भारतको स्वर्णयुगको शुरुवात हुनेमा जोड दिए।प्रधानमन्त्री मोदीले नालन्दाको पुरातन भग्नावशेष नजिक यसको पुनरुत्थानले भारतको क्षमताको बारेमा विश्वलाई सचेत गराउने बताए। उनले भने, ‘बलियो मानवीय मूल्यहरू भएका राष्ट्रहरू इतिहासलाई पुन: आकार दिन र राम्रो संसार निर्माण गर्न सक्षम छन् भन्ने जानकारी यसले विश्वलाई दिनेछ।‘
प्रधानमन्त्री मोदीले नालन्दामा विश्व, एसिया र धेरै देशहरूको सम्पदा रहेको अनि यसको पुनरुत्थान भारतीय पक्षहरूको पुनरुत्थानमा मात्र सीमित नभएको बताए। आजको उद्घाटनमा यति धेरै देशको उपस्थितिबाट उनीहरूले नालन्दा आयोजनामा मित्र राष्ट्रको योगदानलाई स्वीकार गरेको प्रष्ट हुन्छ। उनले नालन्दामा प्रतिबिम्बित भएको महिमा फिर्ता गर्ने बिहारका जनताको दृढ संकल्पको पनि प्रशंसा गरे। नालन्दालाई भारतको संस्कृति र परम्पराको जीवन्त केन्द्रको रूपमा वर्णन गर्दै, प्रधानमन्त्रीले नालन्दाको अर्थ ज्ञान र शिक्षाको निरन्तर प्रवाह हो र यो शिक्षाप्रति भारतको दृष्टिकोण र सोच रहेको बताए। प्रधानमन्त्री मोदीले भने, ‘शिक्षा सिमाभन्दा बाहिरको कुरा हो, यसले मूल्य र विचारलाई आकार दिन्छ र विकास गर्छ।‘ उनले पुरातन नालन्द विश्वविद्यालयमा विद्यार्थीलाई फरक पहिचान र राष्ट्रियतालाई बेवास्ता गरी भर्ना दिइने बताए। उनले नवनिर्मित नालन्द विश्वविद्यालय क्याम्पसमा पनि त्यही पुरातन परम्परालाई आधुनिक रुपले सुदृढ गर्नुपर्नेमा जोड दिए। नालन्दा विश्वविद्यालयमा २० भन्दा बढी देशका विद्यार्थी अध्ययनरत रहेकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरे। यो ‘वसुधैव कुटुम्बकम’ को उत्कृष्ट उदाहरण भएको उनले बताए।
A memorable mix of history and education. Nalanda is truly special. Here are today’s highlights. pic.twitter.com/J17pxCwUD1
— Narendra Modi (@narendramodi) June 19, 2024
प्रधानमन्त्रीले शिक्षालाई मानव कल्याणको माध्यमको रूपमा स्वीकार गर्ने भारतीय परम्परालाई उल्लेख गरे। आउँदो अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा उनले योग दिवस अन्तर्राष्ट्रिय पर्व बनेको बताए। योगका यति धेरै शैलीहरू विकास गरे पनि भारतमा योगमा कसैले एकाधिकार दाबी नगरेको उनले बताए। ‘त्यसैगरी भारतले आयुर्वेदलाई सारा विश्वसँग साझा गरेको छ’, उनले भने। प्रधानमन्त्रीले दिगोपनप्रति भारतको प्रतिबद्धतालाई पनि जोड दिँदै भने, ‘भारतमा हामीले प्रगति र वातावरणलाई सँगै लिएर अघि बढेका छौं। यसले भारतलाई स्वस्थ जीवनशैली (मिशन लाइफ) र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन जस्ता पहलहरू गर्ने अवसर प्रदान गर्यो।‘ उनले नालन्दा क्याम्पसले अग्रणी नेट शून्य ऊर्जा, नेट शून्य उत्सर्जन, नेट शून्य पानी र नेट शून्य अपशिष्ट मोडेलहरूको साथ दिगोपनको भावनालाई अग्रगामी बनाउने बताए।
प्रधानमन्त्री मोदीले शिक्षाको विकासले अर्थतन्त्र र संस्कृतिको जरा गाढा हुने र यो विश्व र विकसित मुलुकको अनुभवले प्रमाणित भएको बताए। उनले भने, ‘भारतले सन् २०४७ सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्य हासिल गर्न काम गरिरहेको छ, र आफ्नो शिक्षा प्रणालीमा परिवर्तन गरिरहेको छ। मेरो मिशन भनेको भारत विश्वमा शिक्षा र ज्ञानको केन्द्र बनोस्। मेरो मिशन भारतलाई एक पटक फेरि विश्वको अग्रणी ज्ञान केन्द्रको रूपमा चिनाउनु हो।‘ उनले अटल टिंकरिङ ल्याबजस्ता पहलहरू उल्लेख गरे, जसले एक करोडभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरिरहेको छ। उनले भने, ‘चन्द्रयान र गगनयान मिशनले विद्यार्थीहरूमा विज्ञानप्रति रुचि जगाएको छ, र स्टार्टअप इण्डिया अभियान मार्फत भारतमा १.३० लाख स्टार्टअपहरू शुरु भएका छन्। दश वर्षअघि स्टार्टअपको संख्या केही सय मात्र थियो। पेटेन्ट र अनुसन्धान पत्रहरूको रेकर्ड संख्या फाइल गरियो, र अनुसन्धानकर्ताहरूको लागि एक लाख करोड रुपियाँको अनुसन्धान कोष सिर्जना गरियो।‘
प्रधानमन्त्रीले विश्वकै अत्याधुनिक अनुसन्धानमुखी उच्च शिक्षा प्रणालीका साथै बृहत् र पूर्ण सीप प्रणाली निर्माण गर्न सरकारको प्रयासबारे जानकारी गराए । उनले ग्लोबल ऱ्याङ्किङमा भारतका विश्वविद्यालयहरूको राम्रो प्रदर्शनको पनि उल्लेख गरे। गत १० वर्षमा शिक्षा र सीप विकासको क्षेत्रमा हालैका उपलब्धिहरू उजागर गर्दै प्रधानमन्त्रीले क्युएस ऱ्याङ्किङमा भारतीय शैक्षिक संस्थाहरूको संख्या ९ बाट ४६ र टाइम्स हायर एजुकेशन इम्प्याक्ट ऱ्याङ्किङ १३ बाट १०० मा बढेको उल्लेख गरे। प्रधानमन्त्रीले विगत १० वर्षमा देशमा हरेक हप्ता एउटा विश्वविद्यालय, हरेक दिन एउटा नयाँ आईटीआई र दुई नयाँ कलेज र प्रत्येक तेस्रो दिन एउटा अटल टिंकरिङ ल्याब खोलिएको बताए। उनले आज भारतमा २३ वटा इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रहेको र भारतीय व्यवस्थापन संस्थानको संख्या १३ बाट बढेर २१ पुगेको बताए। एम्सको संख्या झण्डै तीन गुणा बढेर २२ पुगेको छ, र मेडिकल कलेजको संख्या पनि झण्डै दोब्बर भएको छ। शिक्षा क्षेत्रमा सुधारको कुरा गर्दै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीतिको उल्लेख गर्दै यसले भारतका युवाको सपनालाई नयाँ आयाम दिएको बताए। प्रधानमन्त्री मोदीले भारतीय र विदेशी विश्वविद्यालयहरू बीचको सहकार्य र देशमा डेकिन र वोलोङगोङ जस्ता अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको नयाँ क्याम्पसहरू खोल्ने कुरा पनि उल्लेख गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले यी सबै प्रयासहरूबाट भारतीय विद्यार्थीहरूले उच्च शिक्षाका लागि भारतमा उत्कृष्ट शैक्षिक संस्थाहरू प्राप्त गरिरहेको बताएका छन्। उनले भने, ‘यसले हाम्रो मध्यम वर्गको लागि पनि पैसा बचत गरिरहेको छ।‘
प्रमुख भारतीय संस्थानहरूको विश्वव्यापी क्याम्पसको भर्खरै उद्घाटनको सन्दर्भमा प्रधानमन्त्री मोदीले नालन्दाको लागि पनि यस्तै आशा व्यक्त गरे। उनले आज सारा विश्वको नजर भारत र भारतका युवाहरूमा रहेको बताए। उनले भारत भगवान बुद्धको भूमि भएको र सम्पूर्ण विश्व लोकतन्त्रकी जननीसँग काँधमा काँध मिलाएर हिँड्न चाहन्छ भने। उनले भने, ‘जब भारतले ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ भन्छ, विश्व यसको साथ खडा हुन्छ। जब भारतले ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ भन्छ, यसलाई विश्वको भविष्यको बाटो मानिन्छ। जब भारतले ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्छ, संसारले उनको विचारलाई सम्मान र स्वीकार गर्दछ। नालन्दाको भूमिले यस विश्वव्यापी भ्रातृत्वको भावनालाई नयाँ आयाम दिन सक्छ। त्यसैले नालन्दाका विद्यार्थीहरूको जिम्मेवारी अझ बढेको छ।‘
नालन्दाका विद्यार्थी र विद्वानहरूलाई भारतको भविष्यको रूपमा व्याख्या गर्दै प्रधानमन्त्रीले अमृत कालको आगामी २५ वर्षको महत्त्वलाई जोड दिँदै नालन्दाको ‘मार्ग’ र मूल्यमान्यतालाई साथमा लैजान आग्रह गरे। उनले जिज्ञासु, साहसी र सबै भन्दा माथि आफ्नो जनता जस्तै दयालु बन्न र समाजमा सकारात्मक परिवर्तनका लागि काम गर्न आग्रह गरे। प्रधानमन्त्री मोदीले नालन्दाको ज्ञानले मानवतालाई दिशा दिने र यहाँका युवाले भविष्यमा सम्पूर्ण विश्वको नेतृत्व गर्ने विश्वास व्यक्त गरे। उनले नालन्दा विश्वको चासोको महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे। यस अवसरमा बिहारका राज्यपाल राजेन्द्र अर्लेकर, बिहारका मुख्यमन्त्री नितिश कुमार, केन्द्रीय विदेश मन्त्री डा. सुब्रह्मण्यम जयशंकर, केन्द्रीय विदेश राज्यमन्त्री पवित्र मार्गेरिता, बिहारका उपमुख्यमन्त्री विजय कुमार सिन्हा र सम्राट चौधरी, नालन्दा विश्वविद्यालयका कुलपति प्रा. अरविन्द पनगरिया र नालन्दा विश्वविद्यालयका उपकुलपति प्रा. अभय कुमार सिंह लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो।
पृष्ठभूमि
नालन्दा विश्वविद्यालय क्याम्पसमा दुईवटा शैक्षिक ब्लकहरू छन् जसमा प्रत्येक ४० कक्षा कोठाहरू छन्। जसमा १९०० विद्यार्थी बस्न सक्नेछन्। यसमा तीन सय सिट क्षमताको दुईवटा अडिटोरियम, करिब ५५० विद्यार्थी क्षमताको होस्टेल र अन्य विभिन्न सुविधाहरू छन्, जसमा अन्तर्राष्ट्रिय केन्द्र, २००० व्यक्ति क्षमताको एम्फीथिएटर, फ्याकल्टी क्लब र खेलकुद परिसर छन्। क्याम्पस एक ‘नेट शून्य’ हरियो क्याम्पस हो। सोलार पावर प्लान्ट, घरेलु तथा खानेपानी प्रशोधन प्लान्ट, फोहोर पानीको पुन: प्रयोगका लागि वाटर रिसाइक्लिङ्ग प्लान्ट, १०० एकड जलाशय र अन्य धेरै पर्यावरण मैत्री सुविधाहरूले सुसज्जित छ। नालन्दा विश्वविद्यालयको इतिहाससँग गहिरो सम्बन्ध छ। लगभग १६ सय वर्ष पहिले स्थापित मूल नालंदा विश्वविद्यालय, संसारको पहिलो आवासीय विश्वविद्यालयहरू मध्ये एक मानिन्छ। नालन्दाका भग्नावशेषहरूलाई सन् २०१६ मा संयुक्त राष्ट्र सङ्घीय सम्पदा स्थल घोषित गरिएको थियो। -पीआईबी










