तुर्कु (फिनल्याण्ड): भारतका ओलम्पिक र वर्ल्ड च्याम्पियन ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले एक महिनापछि खेलमा फर्किएर पावो नुरमी खेलहरूमा पहिलोपल्ट स्वर्ण पदक जिते। यस प्रतिष्ठित प्रतियोगितामा उनले यसअघि २०२२-मा रजत पदक जितेका थिए। यसपाली चाहिँ उनले आफ्नो तेस्रो प्रयासमा ८५.९७ मीटरको थ्रो गरी स्वर्ण पदक हासिल गरे। फिनल्याण्डका टोनी केरानेनले ८४.१९ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ दोस्रो स्थानमा रहेर रजत पदक जिते। यसरी उनकै देशका खेलाड़ी तथा गत वर्षको स्वर्ण पदक विजेता ओलिवर हेलाण्डेरले काँस्य पदक जिते। उनले ८३.९६ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। चोपड़ाले स्पर्धामा ८३.६२ मीटरको साथ शुरुवात गरे। दोस्रो चरणमा हेलाण्डेरले ८३.९६ मीटरको साथ बढ़त हासिल गरेका थिए तर तेस्रो चरणमा चोपड़ाले ८५.९७ मीटरको थ्रो गरी फेरि बढ़त हासिल गरे, जुन अन्तसम्म कायम रह्यो। छब्बीस वर्षीय भारतीय एथलीटले तेस्रो प्रयासपछि हात उठाएर आफ्नो चीरपरिचित तरिकाले खुशीयाली मनाए। पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने प्रबल दावेदार चोपड़ाले दुई साल अघि यस प्रतियोगितामा ८९.३० मीटरको थ्रो गरी रजत पदक जितेका थिए। यसपाली दुईपल्टका वर्ल्ड च्याम्पियन ग्रेनाडाका एण्डरसन पीटर्स ८२.५८ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ चौथो स्थानमा रहे। यसरी २०१२ ओलम्पिक च्याम्पियन त्रिनिदाद एण्ड टोबेगोका केशोर्न वालकट ८१.९३ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ नवौं स्थानमा रहे। चोपड़ाले गत महिना चोटले गर्दा ओस्ट्रावा गोल्डन स्पाइक प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। उनले यस सत्रको शुरुवात मईमा भएको दोहा डायमण्ड लीगमा ८८.३६ मीटरको थ्रो गरी दोस्रो स्थानमा रहेर गरेका थिए। त्यसपछि उनले भारत आएर फेडरेशन कप सीनियर एथलेटिक्स च्याम्पियनशीपमा पनि ८२.२७ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए। उनले अब ७ जुलाईमा पेरिस डायमण्ड लीगमा हिस्सा लिनेछन्।