झापाको चुलाचुलीमोडमा दुर्घटना, २१ जना घाईते

IMG-20240619-WA0139.jpg

भद्रपुर: पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड मंगलबार (जुन १८ )टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ। दुर्घटनामा २१ जना घाइते भएका थिए ।धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र विराटनगर रिफर गरिएको छ। पुलिसका अनुसार अधिकांश घाइतेहरु झापा, मोरङ र सुनसरीका रहेका छन्। कमल–४ का वर्ष ३८ की बिनु लिम्बू र दमक–५ का वर्ष ४२ का कलिन्द्र शेर्मालाई बिएन्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ। यस्तै, मधुमल्ला–८ की ३६ वर्षीया कल्पना कटवाल, उनका ५ वर्षीय बालक, पथरी शनिश्चरे–१ का ४० वर्षीया पूर्णमाया पोखरेल, दमक–८ का ५१ वर्षीय होमबहादुर भट्टराई, इटहरी–५ की ३८ वर्षीय शारदा खड्का, दमक–५ का ४५ वर्षीय अच्युत निरौला र कमल–५ की ३८ वर्षीया लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ ।त्यस्तै, दमक–१ का ३५ वर्षीय राजु कडरिया, गौरादह–४ का ३० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई थप उपचारको लागि निम्स अस्पताल दमक रेफर गरिएको छ। उर्लाबारी–७ का ५० वर्षीय कृष्णकुमार तामाङ र दमक–८ का ६५ वर्षीय भरत ढकालको दमक रिसर्च सेन्टरमा र दमक–१ की ४६ वर्षीया बबिता राईको दमक अस्पतालमा उपचार भइरहेको छ। दमक–४ की ३० वर्षीय भारती मगर, कमल–५ की ४० वर्षीया लक्ष्मी सुब्बा, बिर्तामोड–४ का २१ वर्षीय कर्णबहादुर राजवंशी, भोजपुर ट्याम्केमैयुम–४ की ४५ वर्षीया चरित्र राई, मोरङ पथरी शनिश्चरे–१ का ६५ वर्षीय टंकप्रसाद चुडाल र उनकी छोरी १५ वर्षीया क्याटरिना चुडालको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ। अधिकांश घाइतेको टाउको, छाती, नाक, हातमा चोट लागेको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। हिजो राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते भएका थिए। झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा। ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को। १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका पुलिस कार्यालय दमकको नियन्त्रणमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement