भद्रपुर: वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन्। चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पु-याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको हो। जुन १७ सोमबार राति परेको चट्याङले विद्युत अवरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीनवटा पालिकाको विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ। सदरमुकाम भद्रपुर( चन्द्रगढी)मा समेत विद्युत सेवा थिएन। चट्याङले बिर्तामोड भद्रपुर ३३ केभी प्रसारण लाइनमा क्षति गरेकाले विद्युत् सेवा अवरुद्ध भएको भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईंले जानकारी दिए।झापाको सदरमुकाम भद्रपुर (चन्द्रगढी)मा विद्युत सेवा अवरुद्ध भएपछि कतिपय सरकारी कार्यालयको काम प्रभावित भएको छ। सेवा सुरु गर्ने प्रयत्न भइरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्। चट्याङले भद्रपुर, कचनकवल र हल्दिबारी क्षेत्रकाका केही स्थानमा पनि क्षति पु-याएको छ। मंगलबार जुन १८दिनभर मर्मत सम्भारको काम हुँदा पनि बुधबार ९ बजे पछि मात्र बिद्युत आएको छ।