विधायक दिले नामग्याल बर्फुङपाको अध्यक्षतामा भानुजयन्ती समारोह समिति गठित

IMG-20240618-WA0259.jpg

गान्तोक: २१०औँ भानु जयन्ती समारोहलाई लिएर मंगलवार गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा गान्तोक समष्टिका विधायक दिले नामग्याल बर्फुङपाको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। बैठकमा साहित्यकार एवम् चिन्तक सीपी भट्टराई, गान्तोक नगर निगमका उप-मेयर छिरिङ पाल्देन भोटिया, एसके राई, परिषद्का अध्यक्ष हरि ढुङ्गेललगायत कार्यकारी समितिका सदस्यवर्गको उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष एवम् विधायक बर्फुङपाले यस वर्षको भानु जयन्ती समारोहलाई भव्य एवम् सफल बनाउन सबैले आ-आफ्नो पक्षबाट योगदान दिन आग्रह गरे। उनले आफूलाई यस समारोहको अध्यक्ष चयन गरेवापत् नेपाली साहित्य परिषद्प्रति आभार व्यक्त गरे। साहित्यकार एवम् चिन्तक सीपी भट्टराईले यसपल्टको भानु जयन्ती केही फरक र स्तरीय हुनुपर्ने कुरामा बल दिँदै महत्त्वपूर्ण सुझाउहरू राखे। साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलले भानु जयन्ती समारोहको रूपरेखासँगै समारोह समितिको संरचना र जिम्मेवारीबारे प्रकाश पारे। महासचिव निलम न्यौपानेले सञ्चालन गरेको बैठकमा उपस्थित विभिन्न सदस्यहरूले महत्त्वपूर्ण सुझाउहरू राखेका थिए।

बैठकमा २१०औँ भानु जयन्ती समारोह समिति गठन गरियो। समारोह समितिका प्रमुख संरक्षकका रूपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सर्वसम्मतिद्वारा ध्वनीमतले चयन गरिएको छ। यसैगरी संरक्षकहरूमा मन्त्री सोनाम लामा, अरुण उप्रेती, जीटी ढुङ्गेल, पुरण गुरुङ र नरबहादुर दाहाललाई चयन गरिएको छ। समारोह समितिको अध्यक्ष पदमा गान्तोक समष्टिका विधायक दिले नामग्याल बर्फुङपालाई चयन गरिएको छ। उपाध्यक्षहरूमा विधायक कला राई, गान्तोकका जिल्ला अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष माया प्रधान, गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्री, उपाध्यक्ष छिरिङ पाल्देन भोटिया रहेका छन्। बैठकले साहित्यकार सीपी भट्टराईलाई समारोह समितिको निर्देष्टा चयन गरेको छ। नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेल समारोह समितिको कार्यवाहक अध्यक्ष चयन भएका छन् भने परिषद्का महासचिव निलम न्यौपाने समितिका पनि महासचिव चयन भएका छन्।

समारोह समितिको प्रमुख समन्वयकका रूपमा परिषद्का उपाध्यक्षद्वय नवीन लामिछाने र भक्ति शर्मासँगै पूर्व महासचिव जीवन शर्मालाई कार्यभार सुम्पिएको छ। कोषाध्यक्षको जिम्मेवारी परिषद्का कोषाध्यक्ष जीएस लिम्बु अनि प्रचार-प्रसारको जिम्मेवारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चालाई जिम्मेवारी सुम्पिएको छ। साहित्यिक कार्यक्रम उप-समितिमा परिषद्का साहित्य सचिव भीम राउत, कार्यकारी सदस्य श्रीमती उषा शर्मा, चन्द्र दुलाल, श्रीमती नरकुमारी सुब्बा, श्रीमती पुनम लकान्द्री रहेका छन्। सांस्कृतिक कार्यक्रम उपसमितिमा परिषद्का सचिव संस्कृति गणेश ढुङ्गेल अनि रामायण पाठ प्रतियोगितामा खुशेन तिम्सिना र रवि पौड्याललाई जिम्मेवारी सुम्पिएको छ। शोभायात्रा उपसमितिमा डा. एसके राई, नवीन लामिछाने, श्रीमती भक्ति शर्मा, जीवन शर्मा, जितमान माले र श्रीमती मणि तामाङलाई चयन गरिएको छ। स्वागत उपसमितिमा परिषद्की सचिव प्रशासन रत्न लक्सम सुब्बा, श्रीमती राधा पाण्डे, खुशेन तिम्सिना, कुबेर विष्ट, श्रीमती मीना गौतम, सुश्री रञ्जना छेत्री र श्रीमती मुन्ना दुलाल रहेकी छन्। यातायात एवम् बास व्यवस्था उपसमितिमा कुबेर विष्ट र पुष्पराज अधिकारीलाई चयन गरिएको छ। अतिथि सत्कार एवम् निमन्त्रणा उपसमितिमा जीएस सुब्बा, जोसेफ लेप्चा, रवि पौड्याल, विष्णु न्यौपाने र टीका ढुङ्गेल रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement