गान्तोक: गत १२ जूनदेखि मंगन जिल्लाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याउने पहल हिजोदेखि शुरू भएको छ। यसै क्रममा आज पनि धेरै जना पर्यटकहरूलाई गान्तोक ल्याइएको समवन्धित विभागले जानकारी गराएको छ। आज सीमा सडक संगठन र मंगन जिल्ला प्रशासनको संयुक्त पहलमा १,२२५ भन्दा अधिक पर्यटकहरूलाई सुरक्षित ल्याइएको छ। उल्लेखनीय छ, गत १२ जूनदेखि निरन्तर परेको पानीको कारण मंगन जिल्लाको विभिन्न स्थानमा पर्यटकहरू फँसेका थिए। विशेष गरेर गान्तोक र मंगन जिल्लालाई जोडने सडकको सम्पर्क टुटेपछि मंगन जिल्ला घुम्न गएका पर्यटकहरू गान्तोकसम्म आउन सकेका थिएनन्। राज्य सरकारले मौसम प्रतिकूल भएको कारण हेलिकप्टरको प्रयोग गर्न नसकेको हुनाले पर्यटकहरू मंगन जिल्लाको विभिन्न स्थानमा दिन बिताउन बाध्य बनेका छन्। तर आज १,२२५ भन्दा अधिक पर्यटकहरूलाई गान्तोक ल्याउन सफल बनेपछि पर्यटकहरूले राज्य सरकार, जिल्ला प्रशासन र सीमा सडक संगठनलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्। प्राप्त जानकारी अनुसार पर्यटकहरूलाई उद्दार गर्ने आज दोस्रो दिन बिहान आठ बजीदेखि शुरू भएको थियो। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको निर्देश बमोजिम सीमा सडक संगठन, एनडीआरएफ, एसडीआरएफ,स्थानीय पञ्चायत र स्वंय सेवकहरूको सक्रियतामा लाचेन लाचुङमा फँसेका १,२२५ जना पर्यटकहरू मंगन जिल्लामा सुरक्षित ल्याइएको सूचना एवम जनसम्पर्क विभागद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। लाचेन लाचुङमा फँसेका पर्यटकहरूलाई सुरक्षित मंगन ल्याउनको निम्ति मोटर भेहिकल डिभीजनद्वारा वाहन उपलब्ध गराइएको थियो। उनीहरूलाई मंगनसम्म सुरक्षित ल्याउनको निम्ति सीमा सडक संगठन, एनडीआरएफ र एसडीआरएफले सक्रियरूपमा भूमिका निर्वाह गरेका थिए।