गान्तोक: ११औं विधानसभा चुनावमा भारी मतले विजयी बनेका दरामदिन निर्वाचन क्षेत्रका विधायक सिक्किम विधानसभाको गरिमामय पदमा नियुक्त बनेपछि आज उनलाई भव्य स्वागत जनाइयो। उनलाई दोदक हेलिपेडदेखि स्वागत गरेर बुढियाखोप, मुनिउ गाउँ, दरामदिन सोमबारे बजारमा हुँदै ओख्रेमा जनसैलावले पुर्याएको थियो। ओख्रेमा बधाई एवं धन्यवाद कार्यक्रमको आयोजन गरिएको थियो। उक्त कार्यक्रममा विधानसभा अध्यक्ष एमएन शेर्पा सहित सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका पूर्व विधायक अदित्य गोलेको पनि उपस्थिति रहेको थियो। त्यहाँ उनलाई क्षेत्रवाशीले खदा अर्पण गरेर सम्मान जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै विधानसभा अध्यक्ष एवं क्षेत्र विधायक शेर्पाले सोरेङ जिल्लाबाटनै प्रथमपल्ट सिक्किम विधानसभाको अध्यक्ष जस्तो गरिमामय पदमा आफूलाई नियुक्त गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत सम्पूर्ण विधायकहरूलाई उनले धन्यवाद दिए। योसँगै चुनावमा आफूलाई ९,४०४ मतले विजयी बनाएकोमा उनले समस्त दरामदिनवासीलाई धन्यवाद दिए। यसरी चुनावको प्रचार प्रसारमा आफूसँगै खट्ने सबै कार्यकर्ताहरूलाई पनि उनले धन्यवाद दिए। अबको कार्यकालमा दरामदिनको सम्पूर्ण थाँतीमा रहेका कामहरू पुरा गर्ने उनले वचन दिए। दरामदिनको माथिल्लो भागहरूमा पर्यटनको धेरै सम्भावनाहरू रहेको कुरालाई ध्यानमा राखेर अब त्यहाँ पर्यटन व्यवसायहरू शुरु गरिने पनि उनले बताए। यो क्षेत्रलाई सिक्किमको नमुनाको क्षेत्र बनाउन आफू लागिपर्ने साथै सबैलाई आफूसँगै लाग्ने पनि उनले आह्वान गरे। बिजुली, पानी अनि सड़क व्यवस्थापनको सुदृढिकरण साथै यहाँको पाठशालाहरूको शैक्षिक स्तर अनि स्वास्थ्य सेवाको स्तरमा बढ़ोत्तरी गर्ने पनि उनले बताए।
अब शीघ्र एउटा समिति गठन गर्ने साथै उक्त समितिले क्षेत्रस्तरमा जाँच गरेर सिफारिस गरेपछि मात्र अब काम हुने व्यवस्था मिलाउने उनले घोषणा गरे। योसँगै सुनौलो अनि समृद्ध सिक्किमसँगै सुनौलो अनि समृद्ध दरामदिनको निर्माण गर्न सबैले अघि आउने पनि उनले आह्वान गरे।