झापा: अविरल वर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ। खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ। बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पैह्रोले घर बगाएको छ। दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्। मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुबान भएको छ। कच्ची घरमा पाँच फिटसम्म डुबान भएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। सो स्थानको श्रीमलादेवी राजबंशी, कार्तिक राजवंशी, सञ्जय राजवंशी, कुञ्जि राजवंशीको घर डुबान भएपछि उनीहरु विस्थापित भएका छन्।

उनीहरु सोही स्थानका प्रभा राजबंशीको घरमा आश्रय लिएको बसेको जिल्ला पुलिस कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन्। बिजुलीको दुईवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ। बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए। यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ। सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए।

उनले सोही स्थानमा पैह्रोका कारण लाप्चेटार–सहकाले जाने सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए। लाप्चेटारमा आएको पहिरोले स्थानीय पुष्पा समालको घर पुरेको छ। उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ढकालले बताए। यसैगरी सोही स्थानमा गोयाङ र टाङटिङ खोलाले बस्तीतिर कटान सुरु गरेको ढकालले जानकारी दिए। यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए।