भारी वर्षाका कारण नदीमा पानी बढ्दै, उत्तर बंगालमा भारी वर्षा हुने सम्भवना

IMG-20240618-WA0186

जलपाईगढी: जलपाईगढीमा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सोमबार राति पनि भारी वर्षा भएको थियो। मंगलबार बिहानैदेखि हावाहुरीसहित पानी परिरहेको छ। लगातारको वर्षाका कारण टिस्टा नदीको पानीको सतह बढ्दै गएपछि राष्ट्रिय राजमार्ग ३१ र बंगलादेशसँग सीमा जोडिएको मेखलीगञ्ज क्षेत्रमा पहेंलो चेतावनी जारी गरिएको छ। टिस्टासहित जिल्लाका विभिन्न नदीमा पानीको बहाव बढेको छ। नदी किनारमा बसोबास गर्ने जनताको चिन्ता बढ्न थालेको छ। जलपाईगढी सिंचाई विभाग स्रोतका अनुसार बिहान ६ बजे जलपाईगढी गजलडोबा टिस्टा ब्यारेजबाट ११२७.८९ क्युमेक पानी छोडिएको छ। यसैबीच, अलिपुर मौसम विभागले उत्तर बंगालका जिल्लाहरूमा अर्को बिहीबारसम्म भारी वर्षा जारी रहने जनाएको छ। वर्षा ७ देखि २० सेन्टिमिटरसम्म हुनसक्छ। दार्जीलिङ र कालेबुङमा पनि भारी वर्षा हुने सम्भावना छ। मौसम विभागले उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र माल्दामा पानी र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। मंगलबार यी तीन जिल्लामा वर्षाको कुनै पूर्वानुमान छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement