गान्तोक: दोस्रोपल्ट सरकार गठन पश्चात मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पहिलोपल्ट सरकारका शीर्ष अधिकारीहरूलाई सम्बोधन गरे। स्थानीय मनन केन्द्रमा राज्य सरकारको कार्मिक विभागद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले सरकारी अधिकारीहरूलाई “टीम सिक्किम” बनेर सुखी अनि समृद्ध सिक्किम निर्माणमा सहकार्यको गर्ने अपील गरेका छन्। यसको साथै राज्य साथै देशको विकासको निम्ति प्रशासनिक सुधारमाथि पनि विशेष जोर दिएका छन्। “प्रशासन सदृड़ भए मात्र राज्य र देशको विकास हुनेछ”, मुख्यमन्त्रीले भने।
कार्यक्रममा सिक्किम सरकारका “अण्डर सेक्रिटेरी” तहदेखि माथिका अधिकारीहरूको सहभागिता रहेको थियो। यसको साथै नवनिर्वाचित मन्त्री अनि विधायकहरूको पनि विशेष उपस्थिति रहेको थियो। मुख्यमन्त्री तामाङले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अब राज्यमा जनता सरकार खोज्दै आउने होइन तर जनता सरकार खोज्दै गाउँतिर जाने व्यवस्था सिर्जना गरिनुपर्ने कुरामा जोर दिए। यसै सम्बन्धमा बोल्दै उनले जनताको काम कुनै ढिलाई बिना त्वरित रुपमा गर्ने सरकारी अधिकारीहरूलाई सुझाउ पनि दिए। जनतामा सरकारको छवी परिवर्तन गरिनुपर्ने मुख्यमन्त्रीको भनाइ रहेको छ। यसको निम्ति मुख्यमन्त्रीले अनलाइन सेवालाई सुदृड़ गर्ने सुझाउ दिएका छन्। सरकारले लिएको निर्णयलाई पालन गर्ने अनि सबै विभागमा पारदर्शिता र जवाफदेयी सुनिश्चित गर्ने पनि कड़ा निर्देश दिएका छन्।
आफ्नो सरकारले पछिल्लो कार्यकालमा सरकारी कर्मचारीहरूलाई माया गरेर काम गरेको तथा कसैलाई काखा कसैलाई पाखा नगरेको मुख्यमन्त्री तामाङले आज आफ्नो सम्बोधनमा बताए। बितेको पाँच वर्षमा केही सरकारी अधिकारीले त दुईपल्टसम्म पदोन्नती पाएको पनि उनले थप बताए। पाँच वर्षमा एकैजना पनि सरकारी कर्मचारीलाई सरकार सताउने काम नगरेको दावी गर्दै तरै पनि केही कर्मचारीहरू सरकारसँग खुशी नरहेकोमा उनले दुःख व्यक्त गरेका छन्।