गान्तोक: गत केही दिन अघिदेखि मंगन जिल्लाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई गान्तोक ल्याउने पहल आजदेखि शुरू भएको छ। यसै क्रममा आज चुङथाङमा फँसेका ९ जना पर्यटकलाई टुङदेखि मंगन हुँदै सुरक्षित गान्तोक पठाउन सफल भएको विज्ञप्तिमा उल्लेख गरेको छ। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको नेतृत्वमा मंगन जिल्ला अन्तर्गत विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई आजदेखि उद्दार गर्दै उनीहरूलाई घर फर्काउने पहल शुरू भएको छ। विशेष गरेर पर्यटन विभाग, ट्राभल्स एजेन्ट एसोसिएशन अफ् सिक्किमको संयुक्त पहलमा पर्यटकहरूलाई सुरक्षित ल्याउने पहल गरिएको हो। आज पहिलो चरणमा नौ जना पर्यटकहरूलाई मंगनदेखि गान्तोक ल्याउने कार्य सम्पन्न भयो। उल्लेखनीय छ, गत केही दिन अघिदेखि निरन्तर परेको पानीको कारण गान्तोक र मंगन जिल्लालाई जोडने सडक विभिन्न स्थानमा भत्किएपछि उत्तर जिल्ला घुम्न गएका पर्यटकहरू फँसेका हुन्। लगभग १२ सय भन्दा अधिक पर्यटकहरू हाल मंगन जिल्लाको विभिन्न स्थानमा रहेका छन्। प्रतिकूल मौसमको कारण हेलिकप्टर उडान गर्न नसकेको हुनाले पर्यटकहरू अहिलेसम्म पनि त्यहाँ दिन बिताउन बाध्य बनेका छन्। यसै क्रममा सीमा सडक संगठनको कठोर परिश्रमपछि मंगन जिल्लामा रहेका ५५ जना पर्यटहरूलाई चुङथाङदेखि मंगन ल्याइन सफल बनेको जानकारी गराइएको छ। गत १२ जूनदेखि मंगन जिल्लाको विभिन्न स्थानमा सडक सम्पर्क टुटेपछि आश्रित हुन बाध्य बनेका थिए। गान्तोक जिल्लादेखि मंगन जिल्लालाई जोडने सडकबीच विभिन्न ठाउँमा पैह्रौ गएपछि यातायात ठप्प बनेको थियो। तर सीमा सडक संगठनले लगनशील भएर चुङथाङ र मंगनलाई जोडने सडकमा पुल निर्माण गरेपछि ५० जना पर्यटकहरूलाई चुङथाङदेखि मंगन ल्याइएको छ। सीमा सडक संगठन र एनडीआएरएफको संयुक्त पहलमा पर्यटकहरूलाई सकुशल मंगन ल्याइएको जानकारी गराएको छ।