अगरतला: त्रिपुरा सरकारले त्रिपुराका मानिसहरूलाई सहयोग पुऱ्याउनको लागि पश्चिम बंगालस्थित दुर्घटनास्थलमा आफ्नो दुई सदस्यीय विशेष दललाई पठाएको छ जहाँ अगरतला-सियालदह कञ्जनजङ्घा एक्सप्रेस आज बिहान दुर्घटनाग्रस्त भएको थियो।
यस दुर्घटनामा ज्यान गुमाउने राज्यका मानिसहरूलाई पहिचान गरी उनीहरूको परिवारलाई अनुग्रह राशि प्रदान गरिनेछ। ज्ञात रहोस्, पूर्वोत्तर सीमा रेलवे (पूसीरे) अनुसार अहिलेसम्ममा आठजना मानिसहरूको मृत्यु भइसकेको छ भने २५ जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्।
उल्लेखनीय छ, अगरतला-सियालदह कञ्चनजङ्घा एक्सप्रेसलाई न्यू जलपाईगुड़ी नजिक एक मालगाड़ीले पछिबाट ठक्कर दियो। यो समाचार लेखुञ्जेसम्म मृतकहरूको पहिचान हुन सकेको थिएन।
यहाँ एक प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै त्रिपुराका मुख्यमन्त्रीका सचिव पीके चक्रवर्तीले भने, गए १६ जूनको बिहान ८:१५ बजे कञ्चनजङ्घा एक्सप्रेस यात्रीहरूलाई लिएर अगरतला रेलवे स्टेशनदेखि सियालदह तर्फ प्रस्थान भएको थियो। उनले बताए, ट्रेनमा कुल २३ वटा कोच थियो जसमा २१ प्यासेन्जर कोच र २ भीपी पार्सल कोच सामेल थियो। घटना घटेको तत्कालै त्रिपुरा स्टेट इमरजेन्सी अपरेशन सेन्टर (एसईओसी)- को हेल्पलाइन नम्बरहरूलाई सक्रिय बनाइएको छ तथा आधिकारिक जानकारीको लागि रेलवे अधिकारीहरूसित समन्वय गरिँदैछ।
उनले भने, त्रिपुराका मानिसहरूलाई हरसम्भव सहयोग प्रदान गर्नको लागि त्रिपुरा भवन कोलकाताबाट एक विशेष टीम घटनास्थल तर्फ पठाइएको छ। टीम आज साँजसम्ममा घटनास्थलमा पुग्नेछ। उनले बताए, त्रिपुराका मुख्यमन्त्री प्रो. डा. माणिक साहाको निर्देशमा यो निर्णय लिइएको छ, सबै घाइतेहरूको उपचार खर्च राज्य सरकारले वहन गर्नेछ। साथै त्रिपुराका कुनै व्यक्तिको दुर्भाग्यपूर्ण मृत्यु भएको छ भने पीड़ित परिवारलाई दुई लाख रुपियाँ अनुग्रह राशि प्रदान गरिनेछ। राज्य सरकारले बिहानदेखिकै स्थितिमाथि नजर राखिरहेको पनि उनले बताए।