आफू सत्तामा आए देश निकाला अभियान बृहत रुपमा चलाउने ट्रम्पको धम्की

Donald-Trump

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प २०२४ को राष्ट्रपतिको निर्वाचनको लागि रिपब्लिकन उम्मेदवार हुन्। उनले आफू फेरि सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देश निकाला अभियान सञ्चालन गर्ने वाचा गरेका छन्। मिशिगनमा एक सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले समर्थकहरूलाई नोभेम्बरको चुनावमा राष्ट्रपतिको लागि आफूलाई मतदान गर्न आह्वान गरे र सत्तामा आएमा देशबाट ‘कट्टरपन्थी इस्लामी आतंकवादी’लाई धपाउने घोषणा गरे। उनले भने, ‘नोभेम्बरमा हरेक मतदाताको छनोट स्पष्ट छ। तपाईंसँग हजारौं कट्टरपन्थी इस्लामिक आतंकवादीहरूलाई हाम्रो देशमा प्रवेश गर्न दिने राष्ट्रपति हुनसक्छ वा तपाईंले कट्टरपन्थी इस्लामिक आतंकवादीहरूलाई हाम्रो देशबाट बाहिर निकाल्ने राष्ट्रपति चयन गर्न सक्नुहुन्छ।’ उनले जोड दिए, ‘मेरो नयाँ प्रशासनको पहिलो दिन, हामी अमेरिकी इतिहासमा सबैभन्दा ठूलो देश निकाला अभियान शुरु गर्नेछौं। हामीसँग कुनै विकल्प छैन। यो दिगो छैन।’

ट्रम्पले चुनावअघि धेरै अवसरमा आफ्नो आप्रवासी विरोधी नीतिहरू उल्लेख गरेका छन्। अप्रत्यक्ष रूपमा आईएसआईएससँग जोडिएका शंकास्पद आठ व्यक्ति पक्राउ परेकोको सन्दर्भमा शनिबार ट्रम्पले भने, ‘हाम्रो देश अहिले जस्तो खतरामा कहिल्यै थिएन।’ उनले हजारौं आतंकवादी अमेरिका प्रवेश गरिरहेको दाबी गरे। डोनाल्ड ट्रम्पले भने, ‘हाम्रो देशले धेरै वर्षदेखि यसको लागि ठूलो मूल्य चुकाउनु परेको छ।’ अप्रेलमा उनले अमेरिकामा आप्रवासीहरूलाई ‘जानवर’को रूपमा वर्णन गरे र उनीहरूले ‘हाम्रो देशको रगत विषाक्त’ पारिरहेको आफ्नो अघिल्लो आरोप दोहोर्याए। तर, ट्रम्पको टिप्पणीको चर्को आलोचना भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement