गान्तोक: छिमेकी राज्य पश्चिम बंगालको सिलगड़ी एनजेपीदेखि लगभग १० किलोमिटर टाढ़ोमा राङ्गापानी अनि छत्तरहाट स्टेशनमाझ आज बिहान ८:५५ बजी दुई ट्रेन ठोक्किँदा भयावह दुर्घटना भएको छ। रेल्वे विभागद्वारा प्राप्त जानकारी अनुसार, यस दुर्घटनामा 8 जनाले ज्यान गुमाएका छन् भने २५ जना घाइते भएका छन्। १६ जूनको दिन त्रिपुराको राजधानी अगरतलाबाट सेल्दाहतर्फ गइरहेको सेल्दाह कञ्चनजंघा एक्सप्रेस एउटा मालवाहक ट्रेनसँग ठोक्किँदा सो दुर्घटना भएको हो। यस दुर्घटनामा कञ्चनजंघा एक्सप्रेसको ४ वटा बग्गी अनि मालवाहक ट्रेनको ५ बग्गी लिकबाट बाहिर भएको थियो। यस दुर्घटनाको कारण एनजेपी, सिलगड़ी जंक्सन, बाघडोग्रा अनि आलुबारी रेल मार्ग भएर आउजाउ गर्ने मोठ १९ वटा ट्रेन रद्द भएको रेल्वे विभागले जानकारी गराएको छ। केन्द्रिय रेल मन्त्री अश्विनी वैष्णवले मृतकहरूका परिवारलाई १०-१० लाख रुपियाँ अनि गम्भीर घाइतेहरूलाई २.५ लाख रुपियाँ अनि केही घाइते बनेकाहरूलाई ५०-५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन्।घटनाको जानकारी पाउनसाथै घटनास्थलमा तत्कालै दुर्घटना राहत स्वास्थ्य टोलीलाई राहतको निम्ति पठाएको रेल्वे विभागले जानकारी गराएको छ। हाल पूर्वोत्तर रेल्वेका महाप्रबन्धक चेतन कुमार श्रीवास्तवसँग वरिष्ठ अधिकारीहरू मालीगाउँबाट घटनास्थल पुगेका छन्। रेल मन्त्री अश्विनी वैष्णव पनि नयाँ दिल्लीबाट घटनास्थलतर्फ प्रस्थान भएको जानकारी पाइएको छ।
यस दुःखद घटनाबारे राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दुःख व्यक्त गरेका छन्। यस दुर्घटनामा ज्यान-मालको क्षति भएको उल्लेख गर्दै घाइतेहरूको चाँड़ो स्वास्थ्यलाभ होस् भन्ने कामना गरेका छन्। योसँगै उनले मृतकको आत्माशान्तिसँगै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।