उद्धारको कार्य जारी: मुख्यमन्त्री ममता र रेलमन्त्री अश्विनी दुर्घटनास्थलतर्फ प्रस्थान
सिलगढी (पश्चिम बंगाल): आज कञ्चनजङ्घा एक्सप्रेस रेल र मालगाडीबीच भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। यस दुर्घटनामा धेरै घाइते भएको समाचार छ। घटनास्थलमा राहत र उद्धार कार्य चलिरहेको छ। विपद व्यवस्थापन टोली पनि घटनास्थलमा पुगेको छ। दुर्घटना न्यू जलपाईगढी स्टेशन नजिकै निजाबारी स्टेशन नजिक भएको हो। यहाँ रङ्गापानी स्टेशन नजिकै पछाडिबाट आएको कञ्चनजङ्घा एक्सप्रेसलाई मालगाडीले धक्का दिँदा यो दुर्घटना भएको समाचार छ। निक्कै वेगले धक्का लागेको हुँदा कञ्चनजङ्घा एक्सप्रेस रेलका पछाडिका तीनवटा बोगीलाई ठूलो क्षति पुगेको छ। अहिलेसम्मको समाचारअनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको अनि २५ जना यात्रु घाइते भएको समाचार छ। उद्धार टोली तुरुन्तै घटनास्थल पुगेर उद्धार कार्य तेज गतिमा चलाए।

दुर्घटनापछि राज्यको स्वास्थ्य विभागले उत्तर बंगालका सबै अस्पतालमा रगत भण्डारण गर्न आदेश दिएको छ। घाइतेहरुलाई उत्तर बंगाल मेडिकल कलेज अनि अस्पतालसहित विभिन्न अस्पतालमा भर्ना गरिएको छ। यससँगै उत्तर बंगालमा मेडिसिन अध्ययनरत विद्यार्थी र स्वास्थ्य समस्या भएका व्यक्तिहरू पनि रक्तदान गर्न अगाडि आएका छन्l दुर्घटनापछि मुख्यमन्त्री ममता ब्यानर्जी र रेलमन्त्री अश्विनी बैष्णव दुर्घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

यस दुर्घटनामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेकी छिन्, ‘दार्जीलिङ जिल्लाको फाँसीदेवाबाट एउटा दु:खद रेल दुर्घटनाको जानकारी प्राप्त भयो। म स्तब्ध भएँ। पूरा जानकारी आउन बाँकी रहे पनि कञ्चनजङ्घा एक्सप्रेस रेलसँग मालगाडी ठोक्किएको छ। उद्धार र उपचारका लागि टोली घटनास्थलमा पठाइएको छ। डीएम र एसपीलाई पनि घटनास्थलमा पठाइएको छ। उद्धार कार्य युद्धस्तरमा भइरहेको छ।‘ यस दुर्घटनामा कञ्चनजङ्घा एक्सप्रेस रेलका तीनवटै पछाडिका बोगीलाई ठूलो क्षति पुगेको छ। एउटा बोगी अर्को बोगीमाथि परेको छ। अर्को बोगी ट्र्याकमा पल्टिएको देखिएको छ। दुर्घटनामा यी तीनवटा बोगीमा सबैभन्दा बढी क्षति भएको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा अस्तव्यस्त वातावरण बनेको छ। बोगीमा रहेका घाइते यात्रुहरू चिच्याइरहेको देखियो। उद्धार टोली सबैलाई बाहिर निकालेर अस्पताल पठाउनमा व्यस्त छ।

सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस न्यू जलपाईगढी स्टेशनबाट केही टाडोमा अगाडि बढेको थियो भने रेल रङ्गापानी क्षेत्रमा पुगेपछि पछाडिबाट आएको मालगाडीले धक्का दिएको थियो। दुर्घटना बिहान करिब ८:४५ मा भएको समाचार छ। दुर्घटनाबारे अनुसन्धान गरिने रेल अधिकारीहरूले बताएका छन्। मालगाडीका चालकलाई पनि सोधपुछ गरिने भएको छ। प्राविधिक समस्याका कारण दुर्घटना भएको हो कि भनेर पनि अनुसन्धान भइरहेको छ। शुरुमा सिग्नलिङ समस्याका कारण मालगाडी सोही लाइनमा गएको पाइएको छ।
रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘उद्धार कार्य युद्धस्तरमा भइरहेको छ। रेलवे, एनडीआरएफ र एसडीआरएफका टोलीहरू उद्धारमा जुटेका छन्। घाइतेहरुलाई अस्पताल लगिएको छ।‘ रेलवेका वरिष्ठ अधिकारीहरूले घाइतेहरूलाई मद्दत गर्न एक हेल्पलाइन नम्बर जारी गरेका छन्। घाइतेका आफन्तले ०३३-२३५०८७९४, ०३३-२३८३३३२६ मा फोन गरेर सहयोग लिन सक्नेछन्।