किंग्सटाउन (सेण्ट भिन्सेण्ट): आईसीसी टी२० वर्ल्ड कपमा बंग्लादेशले रोमाञ्चक जीतको साथ सुपर ८-मा स्थान बनायो। सोमवार बिहान खेलिएको ग्रुप डी-को म्याचमा बंग्लादेशले लड़ाकू नेपाललाई २१ रनले पराजित गऱ्यो। यस जीतको साथै बंग्ललादेश ४ वटा म्याचमा ६ पोइण्ट्सको साथ ग्रुपको दोस्रो स्थानमा रहेर सुपर ८-मा पुग्यो। यस ग्रुपबाट ८ पोइण्ट्सको साथ शीर्षमा रहेर दक्षिण अफ्रिकाले अगावै सुपर ८-मा स्थान बनाएको थियो। यसरी पहिला दक्षिण अफ्रिका अनि आज बंग्लादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गरेर पनि हारको सम्मुखीन हुने नेपाल चाहिँ केवल १ पोइण्टको साथ ग्रुपको पाँचौं स्थानमा रह्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने बंग्लादेशको टीम १९.३ ओभरमा केवल १०६ रन बनाएर अलआउट भयो। त्यसपछि जीतको नजिक पुगेर पनि दबाउमा विकेटको पतन हुँदा नेपाल १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भयो। नेपालको तर्फबाट कुशाल मल्लले २७, दिपेन्द्र सिंह ऐरीले २५ र आसिफ शेखले १७ रन बनाए। बंग्लादेशका बलरहरूमा ताञ्जीम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। यसबाहेक मुस्ताफिजुर रहमानले ३ र शाकिब अल हसनले २ विकेट लिए। यसअघि बंग्लादेशको तर्फबाट शीर्ष क्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन् अनि एक समय त केवल ६९ रनमा ७ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट तल्लो क्रमका ब्याटरहरूले भरपूर प्रयास गरी टीमको स्कोर १०० पारी पुऱ्याए। बंग्लादेशबाट शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए। यसबाहेक महमुदुल्लाह र राशिद होसेनले १३-१३ रनको योगदान दिए। नेपालका बलरहरूमा सोमपाल कामी, दिपेन्द्र, रोहित पौड़ेल र सन्दीप लामिछानेले २-२ विकेट लिए।