गान्तोक: सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका कार्यवाहक अध्यक्ष एवं पूर्व मन्त्री कुङ्गा निमा लेप्चाले आज बिहान स्यारी समष्टिको लोवर ताथाङ्चेन क्षेत्रमा पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे।
योसँगै उनले राज्य सरकारले यहाँको जोखिमलाई ध्यानमा राख्दै भविष्यमा क्षतिबाट बचाउन सबै आवश्यक सहायता अनि संसाधान उपलब्ध गराउन पूर्ण रूपले प्रतिबद्ध रहेको जानकारी गराए।
निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व मन्त्रीले लोवर ताथाङ्चेनमा आएको पैह्रोको कारण आवात-जावत अवरोध भएपछि स्थानीयहरूले भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै आफू यहाँ आएको बताए। प्रधानमन्त्री ग्रामीण सड़क योजना अन्तर्गत यहाँ सड़क बनिसकेको अनि एकपल्ट कार्पेटिङ भइसके पनि यहाँको थुक्चु खोलाको पानीले यसलाई प्रभावित पार्ने गरेको उनले बताए।
यहाँको समस्यालाई ध्यानमा राखेर धेरै वर्षअघि लगभग १२ करोड़ रुपियाँको लागतमा ब्रह्मपूत्र योजना अन्तर्गत यहाँको थुक्चु खोलासँगै यहाँका कतिपय झोड़ा बाँध्ने कार्य भएको पूर्व मन्त्रीले स्मरण गरे। ४-५ वर्षको समयमा निर्माण योजनाअन्तर्गत निर्माण कार्य भए पनि सो काम गुणस्तरीय नभएको उनले खुलासा गरे। २०१४-१५-मा आफू विधानसभामा विधायक छॅंदा यो कार्य गुणस्तरीय हुनपर्ने कुरा गरेको अवगत गराए।
तथापि, सो कार्य गुणस्तरीय नभएकै कारण आज यस्तो संकट आइपरेको उनले दाबी गरे। कसैको गल्तीले गाउँलेहरूले समस्या भोग्नु नपरोस् भन्ने उनले थप विचार पोखे। खानी तथा भूविज्ञान विभागको रिपोर्ट अनुसार ताथाङचेन जोन ४-मा पर्ने जानकारी गराउँदै यहाँ भविष्यमा ठूलो आपदा आइपर्ने स्थिति रहेको उनले अवगत गराए। यी विषयलाई ध्यानमा राखेर वर्तमान सरकारद्वारा उचित पहल गरिने पनि पूर्व मन्त्रीले क्षेत्रवासीलाई वचन दिएका छन्।