अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युद्धग्रस्त युक्रेनका लागि १.५ अर्ब डलरको राहत प्याकेज घोषणा गरेकी छिन्। यसको धेरैजसो युक्रेनको ऊर्जा क्षेत्रमा प्रयोग हुनेछ। स्वीट्जरल्याण्डमा भइरहेको युक्रेन शान्ति सम्मेलनका क्रममा यो घोषणा गरिएको छ। यो युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्न प्रयोग गरिनेछ जुन रूसी आक्रमणका कारण नोक्सान भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धका कारण देशको आधा ऊर्जा उत्पादन क्षमता नष्ट भएको बताएका छन्। उनले देशको ऊर्जा पूर्वाधार र शहरहरू जोगाउन जतिसक्दो चाँडो हवाई रक्षा प्रणाली उपलब्ध गराउन पश्चिमी मुलुकलाई आग्रह गरेका थिए। युक्रेनको पावर ग्रिडमा रुसी आक्रमणका कारण ऊर्जा उत्पादन हुन नसकेको र ऊर्जा कम्पनीहरूले लामो समयदेखि विद्युत कटौतीको घोषणा गरेका छन्। ह्वाइट हाउसले युएसएआईडी र स्टेट डिपार्टमेन्टबाट स्वीकृत यस राहत प्याकेजमा ५० करोड डलर ऊर्जा विकास र ३२४ मिलियन डलर ऊर्जा सम्बन्धी आपतकालीन आवश्यकताका लागि रहेको बताएको छ। यसबाहेक कमला ह्यारिसले ३७ करोड ९० लाख डलरको मानवीय सहायता पनि घोषणा गरेकी छन्, जुन युद्धका कारण देशभित्रै विस्थापित भएकाहरूलाई सहयोग गर्न प्रयोग गरिने छ। यस सहयोगबाट प्राप्त रकम खाद्यान्न, स्वास्थ्य सेवा, बास, खानेपानी र सरसफाइको व्यवस्था गर्न खर्च गरिने छ।