खरसाङ: नेपाल आईडलको फाइनलमा पुगेका मोहित भुजेल दुई दिन गाउँ घर बसेर नेपाल फर्केका छन्। दार्जिलिङ पहाड़को प्रतिनिधित्व गर्दै खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी मोहित भुजेल नेपाल आईडलको फाइनलमा प्रवेस गरेपछि दुई दिनको लागि घर आएका थिए। उनी घर आएको समय शुक्रबारको दिन नेपालको चन्द्रगढी भद्रपुरबाट स्वागत गर्दै सुकनाबाट रङटङ्ग, चुनभट्टी, दुई नम्बर, तीनधारे, जोगमाया, घैयाबारी, महानदी हुँदै सिविटार चियाबारीस्थित घरसम्म लगिएको थियो। दोस्रो दिन उनी आफु पढेको विद्यालय सन्त अल्फन्सेस विद्यालयमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने त्यसै दिन आफ्नो संगीतको गुरु रुपेस रसाईली र संगीतसो महागुरु गोबिन्दसिंह घतानी गुरुजीको घरमै पुगेर भेटघाट गरी आशिर्वाद ग्रहण गरेका थिए। नेपाल आईडलको फाइनलिस्ट मोहित भुजेलसितै नेपाल आईडलको तीन सदस्यीय टोली पनि आएका थिए। उनीसितै नेपाल आईडलको तर्फबाट प्रड्युशर सुवास थापा, क्यामेरा म्यान अशोक घिमिरे, सहायक क्यामेरा म्यान साजन भट्टराई पनि मोहितको घर आएका थिए। नेपाल आईडलको टिमले मोहित भुजेल र परिवारसित सम्बन्धित विभिन्न अवसरहरूको क्याप्चर गरेर गएका छन्। दुई दिन बसेर मोहित भुजेल नेपाल आईडलको फाइनलमा प्रस्तुति आईतबार सिविटारबाट सिलगढी हुँदै पानीट्यांकी भएर पूर्वी नेपालको चन्द्रगढी भद्रपुरबाट हवाई यात्रामार्गबाट काठमाण्डौं पुगेका छन्। दुई दिन घरमा बसेर नेपाल आईडलको फाइनलमा प्रस्तुति दिनलाई नेपाल जाने क्रममा उनका पिता मिलन भुजेल अनि माता चन्द्रिका भुजेलको बाहुलीबाट टिका लगाएर आशिर्वाद दिएर बिजयी बनेर आउने शुभकामनासहित पठाएका छन्।









