सिलगढी: सिलगढी महानगरपालिकाको आधिकारीक परिचय दिएर एक युवकले लामो समयदेखि ठगी गर्दै आएका छन्। उजुरीपछि अभियुक्त युवकलाई भक्तिनगर पुलिस थानाले पक्राउ गरेको छ। आरोपित युवकको नाम नितेश मण्डल (२४) हो। उनी सिलगढीको रथखोला क्षेत्रका बासिन्दा हुन्। उक्त युवकले नगरपालिकाको खानेपानी विभागको आधिकारिक पहिचानसहित घरमा खानेपानीको लाइन पुर्याउने नाममा कैयौं व्यक्तिबाट १० हजार रुपियाँ लिएको बताइएको छ। त्यस्तै यसपटक पनि ठगी गर्दागर्दै युवक पक्राउ परेका छन्। उक्त युवकले सालुगडाका एक व्यक्तिबाट खानेपानीको लाइन दिने नाममा १० हजार रुपियाँ पनि लिएका थिए। पैसा लिएपछि व्यक्तिले युवक नक्कली अफिसर भएको थाहा पाए। त्यसपछि उक्त व्यक्तिले युवकविरुद्ध भक्तिनगर पुलिस थानामा उजुरी दिएका थिए। सो उजुरीका आधारमा पुलिसले अनुसन्धान थालेको छ। जसमा पुलिसले युवक नगरपालिकाको नक्कली अधिकृत भएको पत्ता लगाएको थियो। त्यसपछि युवकलाई पुलिसले पक्राउ गरेको थियो। अभियुक्तको साथबाट ९ हजार रुपियाँ बरामद भएको छ। आरोपी युवकलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।