गान्तोक: पोएट आइडल सिजन २ का विजेता सिम्योन सुकिताले पोएट आइडलको यात्रामा सहयोग एवं समर्थन प्रदान गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आन्तरिक ह्रदयबाट कृतज्ञता व्यक्त गरेका छन्।
उनले सिक्किम लगायत देश तथा विदेशबाट भरपूर समर्थन प्राप्त भएको बताउॅंदै सबैको साथ पाएर नै आज यस प्रतिष्ठित प्रतियोगिताको विजेता बन्न पाएको बताएका छन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा सिम्योन सुकिताले सर्वप्रथम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ र कृष्ण कुमारी राईप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले मुख्यमन्त्री र श्रीमती राईले नैतिक साथै वित्तीय रूपमा सहयोग गरेको जानकारी गराउॅंदै उनीहरूको समर्थन बिना आफ्नो जित सम्भव थिएन भनी बताए। यसैगरी, उनले एसकेएम नेता जेकब खालिङ, मन्त्रीद्वय भोजराज राई र जीटी ढुङ्गेललाई पनि सहयोगको निम्ति धन्यवाद दिए।
सिम्योनले उनी आफ्नो प्रतिभाले फाइनलसम्म पुग्न सकेको तर हार र जितको निर्णय भने भोटको माध्यमद्वारा हुने हुनाले सबैलाई सहयोगको निम्ति धन्यवाद दिए। उनले भोइस एनजीओ, शोभाकान्ति थेगिम ट्रस्ट, फ्यान क्लब र अन्य विभिन्न संघ सस्थाहरूप्रति पनि सहयोगको निम्ति धन्यवाद दिए। उनले पोएट आइडल टीमलाई पनि मञ्च प्रदान गरेको धन्यवाद दिए।
उनले यो प्रतियोगिता जितेपछि आफुमाथि ठूलो जिम्मेवारी पनि आइपरेको बताउॅंदै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वहन गर्ने वाचा पनि गरे। एक प्रश्नको जवाफमा सिम्योनले अहिले नेपालको एउटा प्रकाशनको निम्ति पुस्तकमाथि काम चलिरहेको जानकारी गराए।