गान्तोक: दक्षिण सिक्किमको राङ्गाङ याङ्गाङ समष्टिअन्तर्गत मझुवा गाउँमा गत १० जूनको एका बिहानै गएको भीषण भल पैह्रोले प्रभावित परिवारहरूलाई आज मुख्यमन्त्री प्रेम सिंह तामाङको बाहुलीबाट राहत राशि प्रदान गरियो। पैह्रो प्रभावितहरूलाई राज्य सरकारको सम्बन्धित विभागसँगै सिक्किम क्रान्तिकारी मोर्चाबाट पनि राहत राशि प्रदान गरिएको छ। उल्लेखनीय छ, उक्त भीषण पैह्रोमा परेर मझुवा गाउँका एकै परिवारका दुईजनालगायत जम्मा तीनजनाको ज्यान गएको थियो भने एकजना निक्कै गम्भीर घाइते भएकी छन्। यसरी नै पैह्रोले ९ वटा घरलाई बगाएर लगेको थियो भने सातवटा घरलाई भारी क्षति पुऱ्याएको छ। यसको साथै ११ वटा घरका पशुधनलाई व्यापक क्षति पुऱ्याएको थियो। पैह्रोबाट सिर्जना भएको खतराको स्थितिलाई ध्यानमा राखेर अहिले ६७ परिवारलाई प्रशासनले राहत शिविरमा राखेको छ।
आज स्थानीय याङगाङ हेलीपेडमा एउटा कार्यक्रमबीच पैह्रो पीड़ित र प्रभावितहरूलाई राहत राशिको चेक साथै घर निर्मण गर्ने एलटमेन्ट अर्डर पनि वितरण गरियो। पैह्रोमा परेर ज्यान गुमाउनेहरूको परिवारलाई ५-५ लाख रुपियाँ प्रदान गरियो भने घाइते हुनेलाई पनि आर्थिक सहयोग प्रदान गरियो। यसको साथै एसकेएम पार्टीको तर्फबाट घाइतेहरूलाई थप ५० हजार रुपियाँ पनि प्रदान गरियो। यसरी नै पूर्णरुपले घर गुमाउने ९ वटा परिवारलाई आज नै एलटमेन्ट अर्डर अप्रदान गरियो। यसको साथै पैह्रोको कारण जमीन धस्केर घर बनाउन
नसक्ने स्थिति भएका परिवारहरूलाई सरकारले आधा एकर जमीन प्रदान गर्ने पनि मुख्यमन्त्रीले घोषणा गरे। पीड़ितहरूलाई राहत राशि प्रदान गर्ने क्रममा आंक्षिक रुपमा घर क्षतिग्रस्त भएका अनि बस्तुभाव गुमाएका परिवारहरूलाई विभागको पक्षबाट आर्थिक सहयोग साथै एसकेएम पार्टीको पक्षबाट ५०-५० हजार रुपियाँ प्रदान गरियो। यसरी नै राहत शिविरमा रहँदै आएका सबै ६७ परिवारलाई २०-२० हजार रुपियाँको सहयोग राशि पनि प्रदान गरियो।
याङ्गाङको मझुवासाथै हालको समय राज्यका विभिन्न स्थानमा गएको पैह्रो प्रभावितहरूलाई राज्य सरकारले सबै प्रकारको सहयोग प्रदान गर्ने मुख्यमन्त्रीले वचनवद्धता जाहेर गरेका छन्। यसको साथै केन्द्र सरकारबाट पनि सहयोग प्राप्त हुने उनले थप बताए। हाल राष्ट्रिय राजमार्ग १०को अवस्था प्रतिकूल नभएको जानकारी गराउँदे मुख्यमन्त्रीले अत्यावश्यक नपरेसम्म राज्य बाहिरको यात्रा नगर्ने सुझाउ दिएका छन्। अर्कोतिर हालको स्थितिमा राज्यमा २ महिनासम्म पुग्ने राशन र खाद्यान्नको भण्डारण रहेको पनि उनले जानकारी गराए। यस अघि आज बिहान मुख्यमन्त्री प्रमे सिंह तामाङले क्षेत्र विधायक तथा सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापा, मन्त्रीमण्डलका सदस्यहरू अनि सम्बन्धित विभागका अधिकारीहरूको साथमा मझुवा गाउँको पैह्रोको स्थलगत भ्रमण पनि गरेका थिए।

यसको साथै पछि गान्तोक फर्कने क्रममा मुख्यमन्त्री तामाङले मल्लीमा टिल्टा प्रभावित क्षेत्रको पनि भ्रमण गरेर सम्बन्धित अधिकारीहरूलाई आवश्यक दिशानिर्देश दिए।