खरसाङ: खरसाङ महाविद्यालयको ‘आन्तरिक गुणवत्ता प्रमाणन प्रकोष्ठ’ (आईक्युएसी) अनि उत्तर बङ्ग विश्वविद्यालयको संयुक्त आयोजनमा पहाड अनि तराईका विभिन्न महाविद्यालयका प्राध्यापकहरूलाई लिएर फोर ईयर अन्डरग्रेजुएट प्रोग्राम (FYUGP) विषयक पाठ्यक्रमको परिमार्जन तथा पुनर्संरचना सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगद्वारा २०२३-२४ शैक्षणिक सत्रदेखि भारतका सम्पूर्ण केन्द्रीय विश्वविद्यालय अनि राज्यका निजी विश्वविद्यालयहरूमा चार वर्षे स्नातक पाठ्यक्रम नयाँ शिक्षा नीति जारी गरिएको छ। नयाँ शिक्षा नीतिअनुसार यस एफवाईयूजीपी प्रयोगात्मक शिक्षा प्रणाली च्वाइस बेस्ड क्रेडिट सिस्टममा आधारित रहनेछ। गत शैक्षिक सत्रदेखि उत्तर बङ्ग विश्वविद्यालयको अधिनमा रहेका सम्पूर्ण कलेजहरूमा पनि चार वर्षे स्नातक पाठ्यक्रम नयाँ शिक्षा प्रणाली लागु गरिएको छ। यस नयाँ शिक्षा नीतिअन्तर्गत देखापरेका विभिन्न अन्योलता र जिज्ञासालाई मध्यनजर गरी पाठ्यक्रम पुनर्संरचना साथै परिमार्जन विषयमा अवगत गर्ने उद्देश्यले खरसाङ महाविद्यालयमा उक्त एक दिवसीय कार्याशालाको आयोजन गरिएको हो। कार्यशालामा प्रमुख अतिथि उत्तर बङ्ग विश्वविद्यालयका भारप्राप्त कुलसचिव, परीक्षा नियन्त्रक, महाविद्यालय निरीक्षक एवम् एफवाईयूजीपी पुनर्संरचना परिमार्जन समन्वय समिति २०२४-२०२५ शैक्षणिक सत्र सदस्य डा देवाशिष दत्त उपस्थित थिए। यसै गरी उत्तर बङ्ग विश्वविद्यालयका कार्यकारी परिषद् सदस्य तथा एफवाईयूजीपी पुनर्संरचना परिमार्जन समन्वय समिति २०२४-२०२५ शैक्षणिक सत्र सदस्य सुकान्त महाविद्यालयका प्राचार्य डा नीलान्शु शेखर दास विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने एफवाईयूजीपी पुनर्संरचना परिमार्जन समिति २०२४-२०२५ शैक्षणिक सत्र समन्वय संयोजक परिमल मित्र स्मृत्ति महाविद्यालयका सहायक प्राध्यापक राजेश किशोर अग्रवाल विशेष शोध वक्ताका रूपमा रहेका थिए। कार्यशालालाई सम्बोधन गर्दै डा देवाशिष दत्तले नयाँ शिक्षा प्रणाली (NEP) मूलरूपमा अमेरिकन शैक्षिणक प्रतिरूप रहेको बताउँदै भने, एफवाईयूजीपी प्रणालीको कतिपय अन्योलताले गर्दा छात्रहरूको परिणाममा बाधा पुगेको छ। नयाँ ढाँचाका जटिलताको समाधानका लागि एफवाईयूजीपी पाठ्यक्रमलाई परिमार्जन एवम् पुनर्संरचना तयार गर्न आवश्यक भएको हो भन्ने उनले बताए। यस प्रारूपले छात्रहरूलाई एउटा मेजर र एउटा माइनर अथवा बी. ए, बी. कम/बी. एस. सी. साथै एम. डी. सी बीच छनौट गर्ने विकल्प दिनेछ भनी तिनले बताए। कार्यशालामा उत्तर बङ्ग विश्वविद्यालय अन्तर्गतका महाविद्यालयहरूमा २०२ एफवाईयूजीपी प्रवेश सम्बन्धी विशेषताहरूबारे विस्तृत चर्चापरिचर्चा र अन्तर्क्रिया गरियो। यस सन्दर्भमा खरसाङ महाविद्यालयका प्राचार्य तथा कार्यक्रमाध्यक्ष डा. समीर बलले २०२४ प्रथम सत्रको भर्ना विषयमा प्रकाश पार्दै भने, महाविद्यालयमा भर्नाका लागि आवेदन गर्ने खालि एउटा मात्र वेभ पोर्टल उपलब्ध हुनेछ। यस सत्रदेखि कलकत्ता समस्त पश्चिम बङ्गालको निम्ति मूल केन्द्र हुनेछ। आगामी यसै सप्ताहभित्र उक्त पोर्टल खुला हुनेछ। सोही पोर्टलमा गएर इच्छुक छात्रहरूले आवेदन गर्न सक्नेछन्। साथै आफूले चाहेका महाविद्यालयहरूको छोनौटका लागि सुविधा पनि सोही पोर्टलमा पाउने छन्। गत वर्षभन्दा यस वर्षको आवेदन प्रक्रियामा परिमार्जित भएको जानकारी गराउँदै इच्छुक आवेदक अनि अभिभावकहरू पहिलेबाट नै भर्ना प्रक्रियासम्बन्धी सचेत हुनु आवश्यक रहेको बताए।
कार्यशालामा जिटिए क्षेत्रबाट खरसाङ महाविद्यालयलगायत दार्जिलिङ सरकारी महाविद्यालय, साउथफिल्ड महाविद्यालय, सोनादा महाविद्यालय, घुम जोरबङ्लो महाविद्याल, कालेबुङ महाविद्यालय, क्लुनी महिला महाविद्यालय, मिरिक महाविद्यालय अनि तराई क्षेत्रबाट राजगञ्ज महाविद्यालय, कालिपदा घोष तराई महाविद्यालय, परिमल मित्र स्मृत्ति महाविद्यालय, नक्सलबारी महाविद्यालय, सन्मुखतला सिद्धु महाविद्यालय, पी. डी. महिला महाविद्यलय, पिजुश कान्ति मुखर्जी महाविद्यालय, उत्तरबङ्गु महेश्वरी महाविद्यालय, ए. पी. सी. रोय सरकारी महाविद्यालयहरूबाट अंश ग्रहण गरिएको थियो। प्राचार्य डा. समीर बलको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा स्वागत मन्तव्य कार्याशाला संयोजक डा. सिर्जना राईले गरेकी थिइन् भने सहायक प्राध्यापक डा. योगेश खातीले कार्यक्रम सञ्चालन गरेका थिए।