खरसाङ: गोर्खा जनपुस्तकालय, खरसाङको नयाँ कार्यकारी समिति गठन गरिएको छ। नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो सभा पूर्व सभापति एंव समाजसेवी तिलक शर्माको अन्तरिम सभापतित्वमा पुस्तकालय भवनमा सम्पन्न भयो। गत 9 जूनका दिन सम्पन्न वार्षिक साधारण सभामा चुनाउ समितिद्वारा घोषित संयोजक विनोद रसीइलीको संयोजकत्वमा सम्पन्न यस सभामा नव निर्वाचित सदस्यहरुलाई अन्तरिम सभापतिद्वारा पद अनि गोपनीयताको शपथ ग्रहण गराइयो। यसका साथै पदाधिकारीहरूमा सर्वसम्मतिद्वारा अध्यक्ष रविनकुमार प्रधान, उपाध्यक्ष प्रकाश प्रधान अनि कृष्ण पाण्डे, मूलसचिव विनोद रसाइली, सहसचिव निरङ्कर थापा अनि गोमा सुब्बा तथा कोषाध्यक्ष उत्तमकुमार गुरूङलाई चयन गरियो। यसबाहेक कार्यकारिणी समितिका सदस्यहरूमा तिलक शर्मा, सन्तोष राज छेत्री, प्रसनजीत छेत्री, सुजन शर्मा, सजीत खाइबा, हरि प्रधान, देवराज मुखिया, प्रदीप शेर्पा, प्रितम कुमार छेत्री, सञ्जीव छेत्री आदिलाई आगामी सभामा विभिन्न उप समितिहरूको दायित्व प्रदान गरिने तय गरियो। सभामा गत कार्यकारिणी समितिको समीक्षा गरिएको थियो भने आउँदो जुलाई महिनामा पर्ने पादरी गङ्गाप्रसाद प्रधान जयन्ती अनि भानु जयन्ती समारोह आयोजन लगायत पुस्तकालयको संविधानसम्मत क्रियाकलाप, कार्यकारिणी समितिको कार्यप्रणाली तथा सदस्यहरूको दायित्वबारे विशेष छलफल गरिएको थियो।










