खरसाङ: न्यू कन्भेण्ट थियोलोजिकल कलेज, गाडीधुराको आयोजनामा आज यहाँको सार्वजनिक भवनमा चौथोँ दीक्षान्त समारोह सम्पन्न भयो। विशेषगरी आफ्नो बाइबलीय शिक्षा आर्जन गरी बी टेक अनि एम टेक पूरा गर्ने विद्यार्थीहरूलाई यस अवसरमा प्रमाण पत्र अनि उपहारसहित आशिष प्रदान गरियो। पास्टर कबीर लामाद्वारा आरम्भको प्रार्थनाबाट शुरू गरिएको समारोहमा पास्टर डेभिड गहतराजले स्वागत सम्बोधन राखेका थिए। त्यसपछि दीक्षान्तित विद्यार्थीहरू बिमला तामाङ, रोहन कुण्ड अनि रचना गहतराजले वचन पाठ गरेका थिए। त्यसरी नै इन्दु बरूवा अनि अर्पण प्रधानले आ-आफ्नो अनुभव साझा गरेका थिए। महाविद्यालयको वार्षिक रिपोर्ट संस्थापक पा डेभिड गहतराजले राखेका थिए। ईश्वरीय वचन डुवर्सका रेभ उत्तम प्रधानले राखे भने गवाहीको शब्द रोहण कुण्डले राखे। यसै अवसरमा रेभरेन्ट क्लाउडी बरूवाले विद्यार्थीहरूलाई प्रोत्साहन दिँदै बधाई तथा शुभकामना दिए भने रेभरेन्ट दिपेन छेत्रीले पनि आफ्ना विचारहरू राखे। मुख्य रूपले समारोहमा एम डिभिजनको प्रमाणपत्र गोपाल दर्जी, अर्पण थापा, अर्पण प्रधान, दौलत गहतराज अनि सबिता राईलाई प्रदान गरियो भने बी टेकको उपाधि सरोज छेत्री, रोहण कुण्ड, इन्दु बरूवा, बिमला तामाङ, रोमा थापा अनि रचना गहतराजलाई प्रदान गरियो। दिपेन गुरूङले सञ्चालन गरेको समारोहमा बी टेक दोस्रो वर्षका विद्यार्थीहरू, रेशप, पवन दर्जी, अमोश आदिले आध्यात्मिक तथा प्रार्थनाका गीतहरू पनि प्रस्तुत गरेका थिए।

आजको यस कार्यक्रम अनि महाविद्यालय तथा यहाँ आर्जन गरिने शिक्षा सम्बन्धमा यस महाविद्यालयका संस्थापक रेभरेन्ट डेभिड गहतराजले जानकारी दिएका छन्। उनले यस महाविद्यालयमा शिक्षा आर्जन गरेर आगामी दिनहरूमा सेवाकाईहरू गर्न सकिने जनाउँदै यो महाविद्यालय गाडीधुरामा नै अवस्थित रहेको जनाए।










