जनकपुर: बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। जिल्ला पुलिस र सिडिओ कार्यालय बाराको गेट अगाडि मृतक कुश्वाहाको शव राखेर प्रदर्शन गरिएको हो ।शैक्षिक संघ संगठन एवम् समर्थकहरूले दोषीलाई कारबाहीको माग गर्दै २ बजेदेखि प्रदर्शन गरेका हुन्। एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले रामराजा क्याम्पस प्रमुखको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको बताए। अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको थियो। गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो।मृतक कुश्वाहा हत्या प्रकरणमा संलग्न रहेको आशङ्का अहिलेसम्म ५ जना पक्राउ परेको बारा पुलिस प्रमुख महेन्द्र खड्काले बताए। पक्राउ परेकाहरूसँग सोधपुछ चलिरहेको पुलिसले जानकारी दिएको छ।