सिलगढी: सिलगढीको एनजेपी क्षेत्रमा जुवा खेल्ने बोर्ड र इलाका अतिक्रमणलाई लिएर दुई समूहबीच भएको विवादमा एक जनाको हत्या भएको समाचार छ। शुक्रबार राति एनजेपीको आईओसी अगाडि भएको उक्त घटनापछि पूरै क्षेत्रमा सनसनी मच्चिएको छ। समाचारअनुसार आईओसी गेटबाट अलि टाढा कालीपद रोय नामक व्यक्तिको हत्या भएको थियो। उक्त क्षेत्रका केही युवामाथि हत्याको आरोप छ। राति जिल्ला अस्पताल र त्यसपछि सेवक रोडस्थित नर्सिङ होममा पुर्याइए पनि नर्सिङ होमका चिकित्सकले उनलाई मृत घोषणा गरे। एनजेपीको आईओसी क्षेत्रमा यसअघि पनि दुई समूहबीच झडपका घटना भइसकेको छ। उक्त क्षेत्रमा शनिबार बिहानैदेखि एनजेपी पुलिस परिचालन गरिएको छ। घटनाको जानकारी पाएपछि शनिबार बिहान पार्षद शम्पा नन्दी र पूर्व पार्षद जयदीप नन्दी उक्त क्षेत्रमा गए। जुवा बोर्डको विवादका कारण यो घटना भएको आज जयदीप नन्दीले बताए। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।