गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका नागाल्याण्डका राज्यपाल एलए गणेश्यानले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गरेका छन्। भेटकोक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नागाल्याण्डका राज्यपाललाई राजभवनमा न्यानो स्वागत जनाए। प्रकृतिक सौन्दर्यले भरिएको सिक्किममा नागाल्याण्डका राज्यपालको स्वागत गर्ने अवसर प्राप्त भएकोमा उनले खुशी प्रकट गर्दै सिक्किमलाई शान्ति राज्य साथै माउन्ट कञ्चनजङ्गाको नामले पनि चिनिने गरेको बताए। तीन दिवसीय सिक्किम भ्रमणमा आएका नागाल्याण्डका राज्यपालले आज भारत सरकारको संस्कृति मन्त्रालयको उत्तर पूर्व क्षेत्रीय सांस्कृतिक केन्द् र सिक्किम सरकारको सांस्कृतिक विभागसँगको सहकार्यमा मनन केन्द्रमा आयोजित ‘भारत को जानो’ कार्यक्रममा सहभागिता जनाए। यसरी नै उनले भोलि शेरेथाङको सीमानामा आयोजना हुने कार्यक्रममा पनि अंशग्रहण गर्ने योजना रहेको छ।

यस अवसरमा राजभवनका सचिव जेडी भोटिया, सांस्कृतिक विभागका सचिव बसन्त लामा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।