युरो कप २०२४ आज रातिदेखि शुरु हुँदैछ। उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुँदैछ। युरोपका २४ टिम यो खेलमा सहभागी छन्। रुस र युक्रेन युध्दका कारण रुस यो खेलामा सहभागी छैन। युरो कपमा खेल्ने केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्व कप फुटबलमा समेत आफूलाई दर्शकका आँखा स्थान बनाउन सफल भएका थिए। केलियन एमबाप्पे (फ्रान्स) विश्व फूटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा ठूलो नाम हो केलियन एमबाप्पे। लगातार दुई पटक विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सका लागि आशलाग्दा खेलाडी हुन्। पछिल्लो समय लयमा देखिएका एमबाप्पे फ्रान्सका भरोसालाग्दा कप्तान हुन्। उमेर २५ वर्ष टेकेका एमबाप्पे ड्रिब्लिङ, तीब्र गति र अचूक फिनिसिङका लागि विश्व फुटबल जगतमा परिचित छन्। फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ। यो सम्भव भए एमबाप्पेको नाम फूटबलका महान खेलाडीको सूचीमा चढ्ने पक्का छ। एमबाप्पे यस प्रतियोगिताभर हेर्न लायक भूमिकामा रहनेमा दुईमत छैन। ब्रूनो फर्नान्डिस, पोर्चुगल विश्व चर्चित खेल फूटबलका लागि गोलकर्ताको नामले भरिएको पोर्चुगलमा विश्व फूटबलका हस्ति क्रिस्टियानो रोनाल्डोको युग समाप्त हुने समय आइसकेको छ। यस टोलीमा कोही रोनाल्डोको विकल्प हुन सक्छ भने ती हुन् ब्रूनो फर्नान्डिस। पोर्चुगलमा गोल गर्ने क्षमता, रचनात्मकता र उत्कृष्ट डिफेन्डरका रुपमा चिनिने खेलाडी मानिन्छन् फर्नान्डिस।