गान्तोक: प्रकृतिक प्रकोपको कारण उत्तर जिल्लाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई भारत सरकारको सहयोगमा हेलिकप्टरको माध्यमद्वारा सुरक्षित गणतव्य स्थानमा पुऱ्याउनको निम्ति राज्यको पर्यटन विभागले पहल गरिरहेको छ। राज्यको पर्यटन विभागद्वारा जारी गरिएको आंकडा अनुसार हाल उत्तर जिल्लामा १२१५ जना पर्यटकहरू फँसेका छन्, जसमा १२ सय घरेलु पर्यटक रहेका छन् भने नेपालका ३ जना, बंग्लादेशका १० जना र थाइल्याण्डका २ जन रहेको बताइएको छ। विशेष गरेर केही दिनदेखि निरन्तर परेको पानीले मंगन जिल्लालाई राज्यको अन्य जिल्लादेखि सम्पर्क विच्छेद बनाएको छ। विभिन्न स्थानहरूमा पैह्रौ र पानीले सडक ध्वस्त बनाएपछि हाल मंगन जिल्ला सम्पर्क विहिन बन्न पुगेको छ। पर्यटन विभागले स्थानीयहरूलाई पर्यटकहरूलाई सुरक्षित राख्नु पर्ने र कुनै पनि जोखिम मोल्न नदिने आग्रह गरेको छ। उत्तर जिल्लामा फँसेका पर्यटकहरूको निम्ति आवश्यक सामग्रीको प्रबन्धन राज्य सरकार साथै पर्यटन विभागले गर्ने जिम्मेवारी पनि लिएको छ।

उत्तर जिल्लामा फँसेका पर्यटकहरूलाई सुरक्षित ल्याउनको निम्ति राज्यका मुख्य सचिव भीबी पाठकले भारत सरकारको सम्वन्धित मन्त्रालयसमक्ष सम्पर्क गरिरहेको जानकारी गराइएको छ। यसका साथै पर्यटन विभागले फँसेका पर्यटकहरूलाई सुरक्षित ल्याउनको निम्ति सम्वन्धित अधिकारी, पुलिस विभाग र स्थानीयहरूसँग कुराकानी गरेको पनि विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरेको छ।