केरुङबाट चिनियाँ मार्ग हुँदै पाँच हजार क्विन्टल चामल सिमकोटका लागि ढुवानी सुरु

IMG-20240614-WA0209.jpg

काठमांडू: काठमांडूबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ। दुई दिन अगाडि काठमांडूबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार जुन १३मा केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको छ। खाद्यान्न ढुवानीसँगै रहेका लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि खाद्यान्न चिनियाँ गाडीमा ढुवानी सुरु भएको बताए। लिमिटेडले हुम्लाका लागि उक्त नाका भएर पनि खाद्यान्न ढुवानी गर्दै आएको छ। सो मार्ग भएर यस आर्थिक वर्षमा पाँच हजार क्विन्टल खाद्यान्न कोटा थियो। उनले पहिले हिमपातले सडक अवरुद्ध भएको र हाल बाटो पनि खुलेको तथा दूतावासबाट कागजात मिलाउने कार्य भएपछि खाद्यान्न ढुवानी सुरु गरिएको बताए ।उनले केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुर्‍याउने र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने बताएका छन। जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि याल्वाङमा छोडिने र चार हजार क्विन्टल सिमकोटका लागि ढुवानी हुनेछ। यसका लागि लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्नेछ।यो खाद्यान्न सप्लायरमार्फत ढुवानी भएको हो। चिनियाँ दश वटा मालवाहक गाडीले प्रति गाडी पाँच सय क्विन्टल खाद्यान्न हिल्सासम्म ढुवानी गर्नेछन्। यो खाद्यान्न सिमकोट र याल्वाङमा ढुवानी भएर आइपुगे खाद्यान्न भण्डारण अझै मजबुत हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement