जनकपुर: नेपाल सरकारले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी गरिरहेको छ। अगस्तको तेस्रो साताभित्र बङ्गलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
बङ्गलादेशले पनि सोही अनुसारका तयारीको काम गरिरहेको छ। त्यहाँको मन्त्रीपरिषद् अन्तर्गतको सरकारी खरिदसम्बन्धी मन्त्रीस्तरीय समिति (क्याबिनेट कमिटी अन गभर्नमेन्ट पर्चेज–सिसिजिपी) ले मङ्गलबार नेपालबाट ४० मेगावाट विद्युत् खरिदको प्रस्ताव स्वीकृत गरेको छ। यसलाई त्यहाँको मन्त्रीपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीका अनुसार नेपाल बङ्गलादेशबिच विद्युत् व्यापारका सन्दर्भमा हालसम्म भएका सबै समझदारीलाई अन्तिम र एकीकृत रूप दिने गरी जुलाईको पहिलो साता नेपालमा नेपाल–बङ्गलादेश सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ।
“उक्त बैठकसम्ममा आफ्ना देशभित्र गर्नुपर्ने प्रक्रिया पूरा गर्ने गरी हामी दुवै देश लागिपरेका छौँ,” उनले भने , “दुई देशबिच अन्तिम सम्झौता गर्ने र नेपाल, भारत, बङ्गलादेशका कार्यान्वयनकारी निकायबिच कार्यान्वयन तहको सम्झौतापछि विद्युत् निर्यात हुने छ।” ढिलोमा जुलाईको तेस्रो सातादेखि विद्युत् निर्यात गर्ने गरी दुवै देशका सम्बन्धित निकायले काम गरिरहेको उनको भनाइ छ।
बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि भारत सरकारले सैद्धान्तिक सहमति जनाइसकेकाले नयाँ जटिलता सिर्जना हुने सम्भावना कम छ। यसबाहेक पनि कार्यान्वयनकारी निकायहरूबिच विद्युत् व्यापारको प्रारम्भिक मस्यौदामा पनि सहमति भइसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अघिल्लो भारत भ्रमणका क्रममा भारतीय संरचना प्रयोग गरी नेपालको ४० मेगावाट विद्युत् बङ्गलादेश पुर्याउन सहमति भएको थियो।
गत वर्ष मई १५मा बङ्गलदेशमा सम्पन्न ऊर्जा सचिवस्तरीय निर्देशक समितिको बैठकले पनि नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत् बङ्गलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबिच विद्युत् बिक्री सम्झौता (पावर सेल्स एग्रिमेन्ट) यथाशीघ्र गर्ने निर्णय गरेको थियो। मङ्गलबार जुन ११बङ्गलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीले अध्यक्षता गरेको मन्त्रीपरिषद्को सार्वजनिक खरिद समितिले नेपाल, भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौताका आधारमा पाँच वर्षका लागि विद्युत् खरिद गर्ने निर्णय गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डमा विद्युत् बिक्रीका लागि दरसमेत समावेश गरी बोलपत्र पेस गरेको थियो। त्यसै अनुसार नेपालले भारतको मुजफ्फरपुर सबस्टेसनमा पु¥याएको विद्युत् प्रति युनिट ६.४ सेन्टका दरमा प्राधिकरणले बङ्गलादेशबाट रकम प्राप्त गर्ने छ।
ह्विलिङ चार्ज तथा अन्य खर्च बङ्गलादेशले नै भुक्तानी गर्ने तय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले ढल्केबार–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेशका लागि ४० मेगावाट विद्युत् पुर्याउने छ। प्राविधिक चुहावटका लागि समेत थप गरेर विद्युत् आपूर्ति हुने छ। एनटिपिसी विद्युत् व्यापार निगमले आफ्नो प्रसारण लाइन तथा सबस्टेसन संरचनामार्फत भेरामारा हुँदै बहरामपुरसम्म आपूर्ति गर्ने तय भएको छ।