गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा अबिरल वर्षाले जनधनलाई पुऱ्याएको क्षतिको घटनाले आफुलाई स्तब्ध एवं दुखी बनेको बताएका छन्।
यस विनाशकारी घटनाले धेरैको ज्यान लिएको छ भने घरहरू बगाएको छ र परिवारहरू विस्थापित बनेको उनले बताएका छन्।
मुख्यमन्त्रीले उत्तर जिल्ला प्रशासन, प्रहरी विभाग र सम्बन्धित निकायसॅंग सम्पर्क गरेर त्वरित एवं व्यापक प्रतिक्रिया सुनिश्चित गर्न निर्देश दिएको आफ्नो आधिकारिक सोसियल साइटमा जानकारी गराएका छन्। उनले अधिकारीहरू पीडित र प्रभावित परिवारहरूको पुनर्वास, अस्थायी आवास व्यवस्था गर्न, आधारभूत आवश्यकताको व्यवस्था लगायतका सबै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यस घटनाका पीडित परिवारहरू र प्रभावितहरू सबैको साथमा सरकार दृढतापूर्वक उभिएको छ भन्दै सबैलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, उनले आफु आज अरुणाचल प्रदेशको इटानगरमा नवनिर्वाचित मुख्यमन्त्री पेमा खाण्डु र अरुणाचल प्रदेश सरकारको मन्त्रिपरिषद्को सपथ ग्रहण समारोहमा सहभागी बन्न इटानगर आएको जानकारी गराएका छन्। उनले सिक्किमका जनताको आवश्यकता र पीडालाई व्यक्तिगत रूपमा हेर्न र सम्बोधन गर्न चाँडै फर्केर आउने पनि बताएका छन्।