इटानगर: पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन्। योसँगै पेमा खाण्डु लगातार तेस्रो कार्यकालका लागि अरुणाचल प्रदेशको मुख्यमन्त्री बनेका छन्। शपथ ग्रहण समारोहमा चौना मीनले अरुणाचल प्रदेशको उपमुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरे। बुधबारको बैठकले पेमा खाण्डुलाई भारतीय जनता पार्टी विधायक दलको नेता चयन गरेको हो। यस बैठकमा भारतीय जनता पार्टीका केन्द्रीय पर्यवेक्षकहरू- रविशंकर प्रसाद र तरुण चुघ पनि सहभागी थिए। मुक्तो विधानसभा क्षेत्रका विधायक खाण्डुलाई राज्यपाल केटी परनाइकले केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा र अन्य धेरै नेताहरूको उपस्थितिमा सपथ ग्रहण गराए। खाण्डुसँगै अन्य ११ जना विधायकले पनि मन्त्रीको शपथ लिएका छन्। भारतीय जनता पार्टी अरुणाचल प्रदेशमा ६० सदस्यीय विधानसभामा ४६ सिट जितेर लगातार तेस्रो पटक सत्तामा फर्किएको छ। ६० सदस्यीय विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ४६ सिट जितेको छ भने एनपीपीले ५, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले तीन र पीपल्स पार्टी अफ अरुणाचल (पीपीए)ले दुई सिट जितेको छ। कांग्रेसले एक र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्। अरुणाचल प्रदेशका दुवै लोकसभा सीटमा भाजपाले जित हासिल गरेको छ। राज्यमा विधानसभा चुनावसँगै यहाँ १९ अप्रेलमा लोकसभा चुनाव भएको थियो।