खरसाङ: पश्चिम बंगाल सरकारको परियोजना अन्तर्गत आत्मरक्षाको सीप सिकाउने योजना “रानी लक्ष्मी बाई आत्मरक्षा प्रशिक्षण” आज स्कट्स मिशन गर्ल्स स्कूल, खरसाङमा आत्मरक्षा गोष्ठी आयोजना गरिएको छ।
मार्शल आर्ट्स एण्ड फिट्नेस एकेडेमीका प्रशिक्षक सेम्पाई सुशील क्षेत्री, कृष्ण क्षेत्री र प्रयोद्धि प्रधानले, विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गरेका थिए। यो खरसाङ महकुमाको दोस्रो विद्यालय हो जसले बालिकाहरूलाई आपतकालीन अवस्थामा आत्मरक्षाको सीप सिकाउने सरकारी योजनाको फाइदा उठाएको छ। रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयले लगभग एक महिना अघि यो तालिम सञ्चालन गर्ने पहिलो विद्यालय थियो। यो परियोजना सर्व शिक्षा मिशनको कार्यालयबाट स्वीकृति पाएपछि दार्जीलिङ जिल्लाको स्पोर्ट्स कराते-डु संघका महासचिव सेन्सी सन्दीप प्रधानले सुपरिवेक्षण गरिरहेका छन्।
सेम्पाई सुशीलको नेतृत्वमा रहेको टोलीले तालिमबाट विद्यार्थीहरुले रमाइलो गरेको र केही प्रविधिहरु सिकेको तर सिद्ध हुन सबैले नियमित अभ्यास गर्नुपर्ने बताए। उनले तालिम सञ्चालनमा विद्यालय प्रशासनले धेरै सहयोग गरेको बताउँदै विद्यालयमा कार्यक्रम आयोजना गरेकोमा प्रधानाध्यापक सलिन तबिता थापा र शिक्षिकाहरूलाई धन्यवाद दिए।

माफा-का अध्यक्ष सेन्सी सन्दीप प्रधानले बताए अनुसार “बालबालिकाहरूले केही सीपहरू सिक्न र आपतकालीन अवस्थामा आफूलाई सुरक्षित राख्न सकून् भनेर भविष्यमा पनि अन्य धेरै विद्यालय र संस्थाहरूमा यस्ता आत्मरक्षा सेमिनारहरू निःशुल्क सञ्चालन गर्नेछन्।”