खरसाङ: गत ३ जून दार्जीलिङको एउटा स्कूलमा त्यहाँका एक नाबालिक छात्रामाथि स्कूलकै शिक्षकद्वारा गरिएको शारीरिक दुष्कर्मलाई लिएर लङ्भ्यू परिवर्तन मुभमेण्टले पनि प्रतिक्रिया जनाएको छ। यसै घटनालाई लिएर दोषी शिक्षकले कठोर सजाय पाउनुपर्छ भन्ने माग लिएर संस्थाका सदस्याहरूले यहाँ एउटा शान्ति ऱ्याली निकाल्यो। ऱ्यालीपछि पत्रकारहरूसँग कुराकानी गर्दै संस्थाकी संयोजिका सेमिका लामाले वर्तमान समयमा नारीहरू कतै पनि सुरक्षित नरहेको जनाइन्। तिनले एउटा विद्यालय जस्तो ठाउँमा पनि नारीहरू सुरक्षित नहुनुले देशमा बलात्कारीलाई दिइने सजाय फ्यातुलो भएर हो भनी जनाइन्। लामाले गत एक महिनाभित्रमा हाम्रै क्षेत्र वरिपरी यस्ता नारी उत्पीडनका घटनाहरू धेरै भइरहेको जनाउँदै अब सरकारले देशको कानुनमा संशोधन गरेर यस्ता बलात्कारीहरूलाई तत्कालै मृत्युदण्ड दिनुपर्छ भनी माग गरिन्।