त्रिनिदाद: आईसीसी टी२० वर्ल्ड कपको सह-आयोजक वेष्ट इण्डिजले लगातार तेस्रो जीतको साथ सुपर ८ चरणमा स्थान बनायो। बिहीवार बिहान खेलिएको ग्रुप सी-को रोमाञ्चक म्याचमा वेष्ट इण्डिजले खराब शुरुवातपछि असाधारण पुनरागमन गर्दै लड़ाकू न्यूजील्याण्डलाई १३ रनले पराजित गऱ्यो। यस जीतको साथै वेष्ट इण्डिज ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। यसरी न्यूजील्याण्डमाथि चाहिँ ग्रुप चरणमै बाहिर हुने संकट देखा परेको छ कारण टीमले अहिलेसम्म २ वटा म्याच खेलेर दुवै हारेको छ। न्यूजील्याण्डले आफ्नो पहिलो म्याचमा अफगानिस्तान विरुद्ध हारको सामना गर्नु परेको थियो। ब्रायन लारा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले खराब शुरुवातपछि २० ओभरमा ९ विकेट गुमाएर १४९ रनको चुनौतीपूर्ण स्कोर बनायो। जवाफमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। म्याचमा पहिला ब्याटिंग गर्ने वेष्ट इण्डिजको शीर्ष क्रमलाई न्यूजील्याण्डका पेस बलरहरूले तहसनहस पारे। वेष्ट इण्डिजले पहिलो ५ विकेट त केवल ३० रनमा गुमाएको थियो। त्यहाँबाट छैटौं नम्बरमा ब्याटिंग गर्न ओर्लिने शेरफाने रदरफोर्डले मोर्चा सम्हाले। रदरफोर्डले ६ वटा छक्का र २ वटा चौकाको साथ ३८ बलमा अविजित ६८ रन बनाएर टीमको सम्मान बचाए। उनले गुडाकेश मोतीसँग दशौं विकेटको निम्ति ३७ रनको अटूट पार्टनरशीप गरेर टीमलाई १४९ रनसम्म पुऱ्याए। यस पार्टनरशीपमा मोतीले केवल १ बल खेलेर खाता पनि खोलेनन्। अन्य ब्याटरहरूमा निकोलस पूरनले १७, अकील होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा ट्रेण्ट बोल्टले सर्वाधिक ३ विकेट लिए। यसबाहेक टिम साउदी र लोकी फर्ग्यूसनले २-२ विकेट लिए। जवाफमा न्यूजील्याण्डको पनि शुरुवात निराशाजनक रह्यो अनि ६३ रनसम्म ५ विकेटको पतन भइसकेको थियो। शीर्ष क्रममा ओपनर फिन एलन (२६ रन)-लाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। त्यसपछि ग्लेन फिलिप्स र मिचेल सेण्टनरले सक्दो प्रयास गरे पनि टीमलाई हारबाट बचाउन सकेनन्। फिलिप्सले ३३ बल खेलेर ३ वटा चौका र २ वटा छक्काको साथ ४० रन बनाए। यसरी सेण्टनरले ३ वटा छक्काको साथ अविजित २१ रन बनाए। वेष्ट इण्डिजका बलररूमा अल्जारी जोसेफले सर्वाधिक ४ विकेट लिए। यसरी स्पिनर गुडाकेश मोतीले ३ विकेट हासिल गरे। रदरफोर्डलाई प्लेयर अव् द म्याच चयन गरियो।