विराटनगर: महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूको अराजकता बढेर गएको छ। यसअघि सरकारी गाडीमा आगजनी गरेर अरू पाँच वटा गाडीमा क्षति पुर्याएका विद्यार्थीहरूले निर्देशकको कुर्सी रुखमा झुन्ड्याइदिएका छन्। विशेष शैक्षिक कार्यक्रमअन्तर्गत व्यवस्थापन संकाय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीहरूले रुखमा झुन्ड्याएका हुन्। पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी मंगलबार रुखमा झुन्ड्याइएको हो। सुवेदीले कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुअगावै निमित्त निर्देशक डा. शिवचन्द्र चौधरीलाई दिएका थिए ।त्यसपछि नै सुवेदीको कार्यकक्षमा केही दिनअगाडि नै तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएका कारण निर्देशकको नेमप्लेट यथावत् थियो ।विद्यार्थीले मंगलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रुखमा झुन्ड्याएका हुन्। यो घटना प्राज्ञिक मर्यादाविपरीत भएको बताउँदै क्याम्पस प्रमुख डा. रामवतार शरणले क्याम्पस प्राज्ञिक केन्द्र भएकाले टिठलाग्दा घटना हुनु दुःखद भएको सुनाए। यता, सुवेदीले यसमा विद्यार्थी मात्रै नभई प्राज्ञिक वर्गको समेत उक्साहट भएको हुन सक्ने आशंका गरे। उनले राजीनामा दिएर आइसकेको व्यक्तिको कुर्सी रुखमा झुन्ड्याउँदा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीको स्तर मापन हुने बताए। अनावश्यक विवादमा पार्ने गरी कुर्सी रुखमा झुन्ड्याएर विद्यार्थीले आफ्नै स्तर कमजोर बनाएको घटनामा विद्यार्थी विभाजित देखिएका छन्। गत रविबार मात्रै मोरङ क्याम्पसका विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए। त्यही दिन पाञ्चालीस्थित होटल कञ्चनजङ्घाबाहिर पार्किङमा राखिएका विद्युत् प्राधिकरणका पाँच वटा गाडी तोडफोड गरिदिएका थिए।