‘सुनौलो सिक्किम, समृद्ध सिक्किम’ को निम्ति प्रतिबद्ध बनेर काम गर्ने छौं: मुख्यमन्त्री तामाङ

n6168906541718215823833b072d581e5ebafc34cad354903b4d907dc9159fa7cb2304fb4194c038549881b.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम’ को निम्ति गरिएका वाचाहरूलाई अक्षरस पालन गर्न र जनताका आकांक्षाहरूलाई पूरा गर्न प्रतिबद्ध बनेर काम गर्ने बताएका छन्।

मुख्यमन्त्री आज ११औं विधानसभाको पहिलो सत्रको धन्यवाद प्रस्तावमा बोल्दै थिए। पहिलो सत्रमा आज नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणका साथै विधानसभा अध्यक्ष र उपाध्यक्षको चुनाउ सम्पन्न गरियो।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा नाम्ची जिल्लाको याङगाङमा प्राकृतिक प्रकोपका कारण मानिसहरूले ज्यान गुमाएको घटनाप्रति शोक व्यक्त गरे। उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। एसकेएम सरकारले आफ्नो पहिलो कार्यकालमा सिक्किमलाई राष्ट्रियस्तरमा चिनाउन कुनै कसर बांकी नछोडेको उनले बताए।

उनले दोस्रो कार्यकालमा सिक्किमलाई सुनौलो सिक्किम, समृद्ध सिक्किम बनाउन तथा जनताको निम्ति गरिएका ग्यारण्टीहरू पूरा गर्ने प्रतिबद्धता प्रकट गरे। उनले नवनिर्वाचित सदस्यहरूलाई पनि जनताको सेवामा समर्पित बनेर काम गर्न आह्वान गरे।

यसैगरी, उनले एसकेएम पार्टीलाई भारी मतले विजयी बनाएर दोस्रो कार्यकालको निम्ति निर्वाचित गरेकोमा सिक्किमे जनताप्रति आभार प्रकट गरे। उनले पॉंच वर्षअघि जनताको निम्ति काम गर्ने वाचा गरेका थियौं भन्दै यसपाली जनताले दिएको जनमतले हामीले राम्रो काम गरेका रहेछौ भन्ने पुष्टि गरेको छ भने। उनले जनताका आकांक्षाहरूलाई पूरा गर्न कॉंधमा कॉंध मिलाएर टीम सिक्किमको रूपमा काम गर्नु पर्नेछ भनी बताए।

उनले चुनाउ शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आफ्नो योगदान दिने राज्य चुनाउ आयोग लगायत सम्बन्धित सबै विभागहरूलाई पनि धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement